संवैधानिक समितिका सभापति निलाम्बर आचार्यद्वारा उच्चस्तरीय राजनीतिक कार्यदलको औचित्य नदेखिएको भन्दै आलोचना

संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले उच्चस्तरीय राजनीतिक कार्यदलको औचित्य नदेखिएको भन्दै आलोचना गर्नुभएको छ। आज राजधानीमा आयोजित साक्षात्कारमा सभापति आचार्यले कार्यदलले जतिसुकै मुद्दामा सहमति जुटाए पनि मूल मुद्दामा दलहरुवीच विवाद कायमै रहेको भन्दै कार्यदलको भूमिकाप्रति असन्तुष्टि ब्यक्त गर्नुभएको हो। कार्यदल संविधानसभा अन्तर्गत नभएकोले उसको कार्यलाई संविधान लेखन कार्यको प्रक्रिया मान्न नसकिने उहाँको भनाइ थियो।  
 
सभापति आचार्यले दलहरुबीच वाँकी रहेका विवादित विषयमा सहमति नभएसम्म संविधान बन्न नसक्ने बताउनु भयो। मुख्य दलहरु आफ्नो नेतृत्व वा आफू अनुकुल सरकार निर्माणको कसरतमा लागेकाले संविधान लेखन कार्य ओझेल परेको उहाँको भनाइ थियो। आचार्यले पुनः बोलाइएको संसद अधिवेशनले जसरी पनि प्रधानमन्त्री चयन प्रक्रियालाई टुंगोमा पुर्‍याउनु पर्नेमा जोड दिनुभयो। प्रधानमन्त्रीका एक्ला प्रत्यासी रामचन्द्र पौडेलको उम्मेदवारीको विषयमा संचारकर्मीले राखेको जिज्ञासामा आचार्यले पौडेलको उम्मेदवारी यथावत रहने प्रतिक्रिया दिनुभयो।