नयाँ सरकार गठनका लागि नियमावली परिवर्तन गर्नुपर्ने मजदुर किसान पार्टीका विजुक्छेको भनाई

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नयाँ सरकार गठनका लागि नियमावली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।


आज भक्तपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री निर्वाचनलाई नियमावली परिवर्तन गरेर जानुपर्दछ, नियमावली नबदलेसम्म प्रधानमन्त्रीको टुङ्गो लाग्न सक्दैन भन्नुभयो ।


परिवर्तित नियमावलीले प्रधानमन्त्रीको निर्वाचन गर्ने र त्यही निर्वाचनले नयाँ सरकार बन्ने उहाँले बताउनुभयो ।
अध्यक्ष विजुक्छेले पुस ४ गतेदेखि सञ्चालन हुने अधिवेशनमा बजेट पास हुनेबारेमा छलफल नभई प्रधानमन्त्री चयनबारे छलफल हुने बताउनुभयो ।


कार्यदलको समय थप गर्ने बारेमा ठूला दलभित्रै  मत बाझिएको उल्लेख गर्दै उहाँले कार्यदलले निर्णय गर्नुपर्ने ८३ वटा बुँदामा असहमति रहेकाले छलफलबाट टुङ्ग्याउनका लागि दुईसाता समय लाग्ने बताउनुभयो ।