काठमाडौं – प्रधानमन्त्रीका एक्ला उम्मेद्वार रामचन्द्र पौडेलको उम्मेद्वारी फिर्ता लिए एमालेले बहुमतीय सरकार गठनको पक्षमा उभिने विकल्प खुल्ला गर्ने भएको छ ।
केन्द्रीय कमिटीको बुधबार बसेको बैठकमा अधिकांश सदस्यहरुले जारी गतिरोध अन्त्यका लागि बहुमतीय प्रणालीबाट भए पनि निकाश खोज्नु पर्नेमा जोड दिएपछि एमाले सर्तसहित नयाँ विकल्पमा जाने तयारी गरेको हो । एमाले यसअघि राष्ट्रिय सहमतिका लागि कम्तिमा दुई तिहाई बहुमतको सरकार गठन हुनुपर्ने अडानसहित प्रधानमन्त्री निर्वाचनमा तटस्थ बस्दै आएको थियो ।
बुधबार बोल्ने अधिकांश सदस्यले रामचन्द्र पौडेलले उम्मेद्वारी फिर्ता लिनुपर्ने तथा व्यवस्थापिका संसदको नियमावली परिवर्तन गरि नयाँ शिराबाट निर्वाचन प्रक्रिया थाल्नुपर्नेमा जोड दिएका छन् । अधिकांशले पौडेलको उम्मेद्वारी फिर्ताका लागि कांग्रेसलाई आग्रह गरि विशेष अधिवेशनको औचित्यको अन्त्य गर्नुपर्ने धारणा राखेका थिए ।
उनीहरुले विशेष अधिवेशनको औचित्य समाप्तसँगै नियमित अधिवेशन बोलाई प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिएका छन् । केन्द्रीय कमिटीको जारी ५ औं बैठकमा उपाध्यक्ष बामदेव गौतमले बहुमतबाट भएपनि सरकार गठनगरि मुलुकलाई थप अन्यौलतामा राख्न नहुने भन्दै बहुमतीयबाटै पनि सहमति खोज्न सकिने बताएको एक सदस्यले जानकारी दिए ।
त्यस्तै स्थायी समिति सदस्य केपी शर्मा ओलीले विगतमा पार्टीले गरेको ४ सय १ को निर्णयले गतिरोध लम्ब्याएकाले बहुमतीय भित्रैबाट सहमति खोज्नु पर्नेमा जोड दिएका थिए । पौडेलको उम्मेद्वारी फिर्तासँगै शान्ति र संविधान निर्माणमा दलहरुबीच लिखित सम्झौता गरी राष्ट्रिय सहमतिको सरकार निर्माणको बिकल्प नभएको धारणा बलियो भएको केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए ।
एमाले केन्द्रीय कमिटी बिहीबार पनि जारी रहने छ ।



