उच्चस्तरीय कार्यदलको म्याद थप गर्ने बिषयमा छलफल गर्न बसेको संविधानसभाका २७ दलको बैठक आज पनि निष्कर्षविहीन

काठमाडौ  – एकीकृत माओवादी राजी नभएपछि उच्चस्तरीय कार्यदलको म्याद थप गर्ने बिषयमा छलफल गर्न बसेको संविधानसभाका २७ दलको बैठक आज पनि निष्कर्षविहीन भएको छ ।


माओवादी लगायत केहि साना दलले कार्यदलको म्याद थप गर्नु भन्दा संवैधानिक प्रक्रियालाई अघि बढाउन प्रस्ताव गरेपछि बैठक विना निष्कर्ष सकिएको हो । संविधानसभा सचिवालय सिंहदरवारमा बसेको बैठकमा काङ्गे्रस/एमाले लगायत दलहरुले कार्यदलले धेरै विवाद घटाएकाले कार्यदललाई सक्रिय गराएर बाँकी विवाद टुङ्गाउनुपर्ने बताएको काङ्गे्रस मुख्य समेतक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।


माओवादीले सहमति नजनाएपछि कार्यदलका संयोजक पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा ५ गते अर्को बैठक बस्ने सहमति भएको घिमिरेले बताउनुभयो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने कार्यदलको म्याद थप गर्नुभन्दा पनि संवैधानिक प्रक्रियालाई अगाडि बढाउनु उचित हुने धारणा राख्नुभयो ।


उहाँले कार्यदल संवैधानिक प्रक्रिया नभएकाले अनौपचारिक रुपमा भने छलफल जारी राख्न सकिने उल्लेख गर्नुभयो । कार्यदलले विवादित २ सय १० मध्ये १ सय २७ बुदाँमा सहमति गरेको छ भने राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायत ८३ बुदाँमा विबाद टुङग्याउन बाँकी रहेको छ ।