सुजाता कोइरालाले आफ्नो ज्वाँई रुवेल चौधरी विरुद्ध गलत प्रचारवाजी भएको भन्दै प्रमाण पुर्‍याउन चुनौती

– उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफ्नो ज्वाँई रुवेल चौधरी विरुद्ध गलत प्रचारवाजी भएको भन्दै प्रमाण पुर्‍याउन चुनौती दिएकी छन् ।

दश दिने विदेश भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएकी कोइरालाले विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै संचार माध्यमले बिना प्रमाण रुवेललाई आपराधिक क्रियाकलापमा संलग्न रहेको लेखेको उनले बताइन् ।

उनले रुवेलको विरुद्ध प्रमाण भए कानुनी कारवाही गर्न सकिने बताइन । कानुन भन्दा माथि कोही नभएको भन्दै उनले कानुन सबैलाई लाग्ने उल्लेख गरिन ।

कोइरालाका ज्वाइँ रुवेलको अबैध रुपमा नेपाल टेलीकमको कल वाइपसा (भीओइपी) सञ्चालन, प्रहरीको सुडानस्थित राष्ट्रसंघीय मिसनका लागि गरिएको खरिदमा घोटलालगायतका गलत क्रियाकलापमा संलग्न रहेको समाचार बिहीबार कान्तिपुरले प्रकाशन गरेको थियो । 

रुवेल गत शनिवार चितवनको टाइगरटप्स जलमा पूर्वयुवराज परास शाहसंगको विवादपछि चर्चामा छन् । विवादपछि पारसले गोली चलाएको भन्दै उनलाई मंगलबार पोखरामा पक्राउ गरी प्रहरी हिरासतमा राखिएको थियो । बिहीबार चितवन जिल्ला प्रशासन कार्यालयले उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको छ ।    –

– कान्तिपुर