पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको राप्रपा नेपालद्वारा राजधानीमा चक्का जाम, भक्तपुरमा १४ कार्यकर्ता पक्राउ

काठमाडौ  – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शुत्रबार राजधानीमा दुई घण्टा चक्का जामको कार्यक्रम राखेको छ । उसले बिहान ९ बजेदेखि ११ बजेसम्मका लागि चक्का जाम आव्हान गरेको छ ।

चक्का जाम सफल बनाउन राप्रपाका कार्यकर्ताहरु सडकमा उत्रेका छन् । भक्तपुर संवाददाता मकर श्रेष्ठका अनुसार सल्लाघारीमा अरनिको राजमार्ग अवरुद्ध गर्न खोज्ने राप्रपा नेपालका १४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा सावधानी अपनाएको छ । गत साता आयल निगमले खाना पकाउने ग्याँस प्रति सिलिण्डरमा ७५ रुपैयाँ,पेट्रोल,डिजेल र मट्टितेलमा प्रति लिटर ३/३ रुपैयाँका दरले भाउ बढाएको थियो । उक्त मूल्यवृद्धिको विरोधमा राप्रपाले आयल निगमको कार्यालय घेराउ लगायतका कार्यक्रम गरिसकेको छ ।