काठमाडौ – त्रिभुवन विश्वविद्यालय पदाधिकारी र १२ विद्यार्थी सङ्गठनबीच भएको बैठकले आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैतको छ गते गर्ने निर्णय गरेको छ ।
त्रिभुवन विश्वविद्यालयमा भएको छलफलमा माओवादी सम्बद्ध अखिल क्रान्तिकारी बाहेकका विद्यार्थी संगठनहरूको बैठकले यो निर्णय गरेको हो ।
यसैबीच, अखिल क्रान्तिकारीले अहिलेकै निर्वाचन प्रक्रियाबाट स्ववियु निर्वाचन गराउन नहुने बताएको छ ।
क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने र अहिलेकै प्रक्रियाको निर्वाचन प्रणाली आफूहरूलाई मान्य नहुने बताउँदै समानुपातिक निर्वाचन प्रणाली नभएमा अन्य विद्यार्थी सङ्गठनसँग निर्वाचनका विषयमा त्रिविले गरेको निर्णयमा क्रान्तिकारी सहमत नभएको बताए ।
केन्द्रीय समिति बैठकका कारण आजको बैठकमा अखिल क्रान्तिकारी सहभागी नभएको बताइएको छ । स्ववियुको निर्वाचन प्रत्येक दुई वर्षमा फाल्गुन १६ गते हुने गरेको थियो ।