नक्कली राहदानी बनाएर साउदी अरब पुर्‍याउन लागिएका दुई युवतीको उद्धार

कावासोती – नक्कली राहदानी बनाएर साउदी अरब पुर्‍याउन लागिएका दुई युवतीको उद्धार गरिएको छ ।नक्कली राहदानी बनाएर दलालले भारतको दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट साउदी अरब पठाउन लाग्दै गर्दा जाँचका क्रममा नक्कली राहदानी फेला परेपछि उनीहरुको उद्धार भएको हो ।


दुई महिनाअगाडि झापाको काकरभिट्टा १३ स्थित टोकला चिया बगानका दलाल कमल राईले स्थानीय १९ वर्षीया सविना दर्जी र नवलपरासी स्वाठी- ५ बनकट्टीका ओम शर्माले स्थानीय २८ वर्षीया पवित्रा क्षेत्रीलाई नक्कली राहदानी दिलाएर साउदी अरब पठाउन लागेका बेला एयरपोर्टमा ती युवती फेला परेका थिए ।


उनीहरुलाई विमानस्थल कार्यालयले नेपाली राजदूतावासमार्फत प्रवासी नेपाली मञ्चको  पहलमा उद्धार गरेर जिल्ला प्रशासन कार्यालयमा पठाएपछि प्रजिअ हरिराज पन्तले उनीहरुका आफन्त बोलाएर आइतबार जिम्मा लगाएका छन् ।
प्रजिअ पन्तले झापाकै दर्जीका जेठाजु राजु  र क्षेत्रीका बुबा हिरालाई एक कार्यक्रमबीच उनीहरुको जिम्मा लगाएका थिए ।