– किरण पाण्डे
बुटवल सहयोगी अर्घाखाँची टाईम्स
पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ बुटवलले पेट्रोलियम पदार्थको ढुवानी बन्दलाई सोमबार पनि जारी राखेको छ । सरकारले आफ्ना माग पूरा नगरेको भन्दै संघले हिजोदेखि भारतको बैतालपुरबाट तेल आयात र भलबारी डिपोबाट रुपन्देहीसहित विभिन्न जिल्लामा ढुवानी बन्द गरेको हो ।
संघले अनिश्चितकालीन ढुवानी बन्द गरेपछि उपभोक्ताले आवश्यकताभन्दा बढी इन्धनको सञ्चय गर्न थालेका छन् । संघले भारतको बैतालपुरसँगै मुलसरायबाट पनि तेल ढुवानी गर्न पाउनुपर्ने, लुम्बिनी अञ्चलसँगै गण्डकी र धौलागिरी अञ्चल तथा दाङ जिल्लामा इन्धन ढुवानीको अनुमति दिनुपर्ने, भारतीय गाडीले नेपालमा पाएसरह सुविधा पाउनुपर्ने लगायतका माग गरेको छ ।
यसैबीच रुपन्देहीका पाँच विद्यार्थी संगठनले नेपाल आयल निगमको रुपन्देही भलबारीस्थित क्षेत्रीय डिपो कार्यालय प्रमुखको कार्यकक्षमा गरेको अनिश्चितकालीन तालाबन्दी अझै खुलेको छैन । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन माग गर्दै अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियू, अखिल छैठौं, अखिल एकीकृत र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले निगमका क्षेत्रीय प्रमख सुवास दाहालको कार्यकक्षमा हिजो तालाबन्दी गरेका थिए । तालाबन्दीले इन्धन ढुवानीसम्बन्धी प्रशासनिक कामकाज ठप्प भएको छ ।