दुरुपयोग अनुसन्धान आयोगले छापामा मारी कारवाही अघि बढाएको डावर नेपालको उत्पादन रियल जुश बिरुद्ध भारतमा प्रदर्शन

– शंकर आचार्य

 

पर्सा – गुणस्तर र उत्पादन मितिका विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामा मारी कारवाही अघि बढाएको डावर नेपालको उत्पादन रियल जुश बिरुद्ध भारतमा प्रदर्शन भएको छ । नेपालमा उत्पादन भएको उक्त जुशको ठूलो परिमाण भारत निर्यात हुने गर्दथ्यो ।

निर्धारित मिति मन्दा धेरै अघि जुस उत्पादन गरेर भण्डारण गरेको सूचनाको आधारमा सोमबार बारास्थित उदयोगमा छापा मार्दा सही ठहरिएपछि ७४ हजार कार्टुन जुशलाई आयोगले सील गरेको छ । त्यसको प्राविधिक जाँच बुधबारदेखि सुरु भएको छ ।

भारतीय पत्रिका ‘हिन्दुस्तान’ ले मंगलबार रक्सौलमा भारतीयहरुले गरेको प्रदशनवारे समाचार प्रकाशित गरेको छ । उक्त दैनिकका अनुसार, डाबर नेपालले गुणस्तरहीन जुश भारत निर्यात गरेको बिरोधमा मंगलबार रक्सौलको पोष्ट अफिस चोकमा राष्ट्र सेवा दल छात्र मोर्चाका कार्यकर्ताले बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले डाबर नेपालका मुख्य प्रबन्धक उद्दयन गांगुलीको पुत्ला दहन समेत गरेका थिए । गांगुली बिरुद्ध नाराबाजी गर्दै गांगुलीले भारतलाई मिठो जहर निर्यात गरेको आरोप लगाएका थिए ।

दैनिकको उक्त समाचारमा डाबरले तीन महिना अघिनै जुश तयार पारेर त्यसमा जनवरी २०११ को उत्पादन मिति टाँसेको उल्लेख छ । उक्त जुश मार्च २०११ सम्म मात्र पिउन योग्न हुने र त्यसलाई जुन ११ सम्ममा भारतमा निर्यात गर्ने योजना रहेको समाचारमा भनिएको छ ।

उक्त अवसरमा छात्र मोर्चाका जिल्ला अध्यक्ष अभिमन्यु सिंह, दीपक भारती, संरक्षक सेवक सौरभ नाथ, रंजन सिंह, रवि सिंह, प्रभात कुमार, शिवम् कुमार, रंजित झा, पवन सिंह, चंदन, मनिष गुप्ता समेतले कोण सभालाई सम्बोधन गरेका बताइएको छ ।

भारतकै अर्को दैनिक ‘प्रभात खबर’ले पनि बुधबारको अंकमा डाबरको उद्योगमा भएको छापामारीको समाचार प्रकाशित गरेको छ । उक्त दैनिकको समाचारमा सीमावर्ती भारतीय सहर रक्सौलका अनुमंडल अधिकारी जीतेन्द्र साहलाई उदृत गर्दै केही दिनभित्रै रक्सौलस्थित पसलहरुमा छापामारी गरेर डाबर नेपालद्वारा उत्पादित जुस बरामद गर्नका लागि एक कार्यदलको गठन गर्ने खबर छापेको छ ।

साथै अनुमंडलले डाबर नेपालको जुशको खाद्य गुणस्तर परिक्षण गर्ने समेत बताएका छन् । उनले डाबर नेपालको जुशको सेवन नगर्न समेत अपिल गरेको समाचारमा उल्लेख छ । प्रभात खबरको उक्त समाचारमा डाबर नेपालले म्याद नाघी सकेको जुशको बट्टाहरुमा लेबल मेटेर नयाँ मिति उल्लेख गर्ने जानकारी पाएकोसमेत उल्लेख गरेको छ ।

भारतीय पत्रिका गायब

यसैबीच डाबर नेपालको उद्योगमा छापामारेको प्रकरणको तस्विरसहित समाचार प्रकाशित गरेको उक्त भारतीय दैनिकको बुधबारको अंक वीरगंजका सबै पत्रिका पसलहरुबाट केही समयमै गायब बनाइएको छ ।

सबै पत्रिका पसलहरुमा केही व्यक्तिहरुले एकमुष्ट पत्रिका खरिद गरेर लगेको प्रत्यक्षदर्शीहरुले बताए । यस अघि दैनिक रुपमा सहजै र साँझसम्म पनि उपलब्ध हुने उक्त दैनिक बुधबार भने बिहान करीब ९ बजे सम्म प्रायः सबै पत्रिका पसलहरुमा बिक्री भई सकेका थिए ।

उक्त दैनिक पत्रिका खरिद गरेर पढि सकेका वीरगंज नगवाका बबलु कलवारले डाबर नेपाल सम्बन्धी उक्त खोजमुलक समाचारकै कारण पत्रिका गायब बनाइएको हुन सक्ने बताए । यसरी समाचार लुकाउने काम गरेर आम पाठकलाई सूचनाको हकबाट समेत बन्चित गरिएको उनले बताए ।