राप्रपा अध्यक्ष पशुपति शमसेर राणाद्बारा अनमिन गएपछि माओवादीले लडाकुलाई दुरुपयोग गर्ने आशंका व्यक्त

देवनारायण साह

 

सिरहा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले अनमिन गएपछि माओवादीले लडाकुलाई दुरुपयोग गर्ने आशंका व्यक्त गरेका छन् । उनले लडाकु रेखदेखका लागि तत्काल संयन्त्र बनाउन सुझाव दिए ।

‘अनमिन गएपछि ३४ सय हतियारको साँचो माओवादीमा मात्र सीमित रहन्छ,’ बुधबार यहाँ आयोजित कार्यकर्ता भेलामा राणाले भने, ‘लडाकुको २८ वटा क्यान्टोन्मेन्ट र ३४ सय हतियार देख्ने अति संवेदनशिल संयन्त्र तीन दलले बनाउन नसकेकोले मुलुक ठूलो खतरामा जाने निश्चित छ ।’

 

सरकारले अनमिनको म्याद नथपेर मुलुकमा अर्को खतरा निम्त्याएको उनले बताए । ‘लडाकुको रेखदेख हालसम्म अनमिनबाट भएको तर उनीहरुको संख्या न त अनमिनलाई थाहा छ न त अरु कसैलाई नै,’ उनले भने ।

 

अध्यक्ष राणाले माओवादी संविधान निर्माण गर्ने पक्षमा नरहेको आरोप लगाए । पालुङ्टारको बैठकले ल्याएको दस्तावेजले माओवादी कट्टरपन्थी भएको भन्दै उनले लोकतान्त्रिक गणतन्त्र र बहुलवादको सिद्धान्त नमान्ने कट्टरपन्थी सिद्धान्त पास गरेर माओवादी संविधान नवनाउने खेलमा लागेको बताए ।