राष्ट्रपति यादवले श्रीलंकाली राष्ट्रपतिलाई नेपालको समस्या समाधान गर्न मध्यस्थता गरेको भन्ने श्रीलंकाली विदेशमन्त्री दावीका सम्बन्धमा त्यहाँका मन्त्रीले माफी मागे


काठमाडौँ – राष्ट्रपति रामवरण यादवले श्रीलंकाली राष्ट्रपतिलाई नेपालको समस्या समाधान गर्न मध्यस्थता गरेको भन्ने श्रीलंकाली विदेशमन्त्री दावीका सम्बन्धमा त्यहाँका एक मन्त्रीले प्रधानमन्त्रीसित माफी मागेको एक श्रीलंकाली पत्रिकाले जनाएको छ।
श्रीलंका गार्जियनको अनलाइन संस्करणमा हालै नेपाल भ्रमणमा आएका विदेश मन्त्रालयका एक उपमन्त्री निओमल परेराले श्रीलंकाली सरकारको प्रतिनिधित्व गर्दै नेपाल सरकारसमक्ष माफी मागेको उल्लेख गरेको छ।

बेइजिङमा भएको भेटका क्रममा राष्ट्रपति यादवले श्रीलंकाली समकक्षी महिन्दा राजापाक्सेलाई मध्यस्थताको आग्रह गरेको दावी त्यहाँका विदेश मन्त्री जीएल पेइरिसले गरेका थिए। यसको खण्डन राष्ट्रपतिका प्रेस सल्लाहकारमार्फत् भइसकेको थियो। तर पेइरिसले श्रीलंकाली संसदमा पुनः आफूले झुटो नबोलेको दावी गरेका थिए।



श्रीलंका गार्जियनका अनुसार प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा उपमन्त्री परेराले ‘मिस अण्डरस्ट्यान्डिङ’ भएको भन्दै माफी मागेका थिए। पत्रिकाले यो समाचार सार्वजनिक नगर्न पनि मन्त्रीले अनुरोध गरेको उल्लेख गरेको छ।