शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै सङ्घीय लिम्बूवान राज्य परिषद्द्वारा इलामको क्याम्पसमा तालबन्दी

इलाम – शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै सङ्घीय लिम्बूवान राज्य परिषद्ले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा आज तालबन्दी गरेको छ ।


शिक्षक नियुक्ति सुनियोजित ढङ्गबाट गरिएको भन्दै क्याम्पस प्रमुखले राजीनामा नदिए कडा आन्दोलनमा उत्रने चेतावनी लिम्बुवानले दिएको छ । तालाबन्दीका कारण बिहानैदेखि क्याम्पसको पठनपाठन अवरुद्ध भएको छ ।
क्याम्पस भवनका पर्खालहरुमा पनि लिम्बुवानले क्याम्पस प्रशासन होशियार, नातावाद मुर्दावादलगायतका नारा लेखेको छ भने क्याम्पस परिसरमा कालोझण्डा गाडिएको छ । लामो समयदेखि काम गर्दै आएका शिक्षकलाई बेवास्ता गर्दै सुनियोजित तवरले शिक्षक नियुक्ति गरिएकाले परिषद् सङ्गठनात्मक रुपमा आन्दोलनमा उत्रिएको परिषद्का केन्द्रीय सदस्य डाकप्रसाद गौतमले बताउनुभयो ।


क्याम्पसले विभिन्न १० विषयका लागि १७ जना शिक्षक लिखित तथा मौखिक परीक्षाका माध्यमबाट करारमा नियुक्त गरेको थियो । नियुक्तिमा नपरेका कतियप शिक्षकले उत्तीर्ण हुने शिक्षकहरुलाई फोन गरी मारिदिने धम्कीसमेत दिएको पीडित शिक्षकले बताएका छन् ।


यता, सङ्घीय लिम्बुवान इलामका अध्यक्ष डम्बर लोरिङ्देनले भने शिक्षक नियुक्तिका सम्बन्धमा परिषद्ले कुनै पनि निर्णय र आन्दोलनका कार्यक्रम घोषणा नगरेको बताउनुभएको छ । केही सदस्यले व्यक्तिगत रुपमा गरेको निर्णय सङ्गठनको निर्णय मान्न नसकिने उहाँले बताउनुभयो ।