नेपाली युवतीसँग विवाह गरी १० वर्षदेखि नेपालमा रहँदै आएका दुई दक्षिण कोरियालीलाई जासुसको आशंकामा १० दिनभित्र देश छाड्न अध्यागमन विभागको निर्देशन

प्राप्त समाचारमा जनाइए अनुसार नेपाली युवतीसँग विवाह गरी १० वर्षदेखि यहाँ रहँदै आएका दुई दक्षिण कोरियालीलाई १० दिनभित्र नेपाल छाड्न अध्यागमन विभागले निर्देशन दिएको छ। चोय वान सप र सन ह्याकको गतिविधि शंकास्पद रहेकाले देश छाड्न भनिएको विभागले जनाएको छ।

 

प्रहरीले यी दुवैलाई कोरियाली जासुस रहेको आशंका गरेको छ। दरबारमार्गको उडल्यान्ड व्यापारिक भवनमा कोरियन रेस्टुरेन्ट चलाउँदै आएका उत्तर कोरियाली नागरिक याङ हक एकाएक बेपत्ता भएपछि उनको अनुसन्धानका क्रममा प्रहरीले ती दुईलाई पक्राउ गरेको थियो। हक अपहरणमा परेको दाबी गर्दै उत्तर कोरियाली दूतावासले नेपाल सरकारलाई खोजीका लागि आग्रह गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो।

प्रहरीले हक अपहरणमा नपरी रेस्टुरेन्ट सञ्चालन गर्दा लागेको ७० लाख रुपैयाँ ऋण तिर्न नसकी भागेको खुलेको जनाएको छ। हकलाई भारत हुँदै कोरिया भगाउन सहयोग गरेको पक्राउ परेका दुवैले प्रहरी बयानमा सकारेका थिए।


सार्वजनिक अपराधमा कारबाहीपछि तीन साताअघि दुवै कोरियाली नागरिक धरौटीमा रिहा भएपछि प्रहरीले थप अनुसन्धानका लागि अध्यागमनलाई बुझाएको थियो।


अध्यागमन अधिकारीका अनुसार अनुसन्धानबाट उनीहरूलाई देशनिकाला गर्नुपर्ने गतिविधि नदेखिए पनि शंका लागेकाले स्वदेश फर्काउने निर्णय भएको हो।


अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पर्यटन भिसामा नेपाल आएका हकले रेस्टुरेन्ट सञ्चालनका क्रममा ऋण तिर्न नसकेर उनी दक्षिण कोरियाली नागरिकको सहयोगमा नेपालबाट भारतको नयाँदिल्ली हुँदै स्वदेश फर्केको खुलेको थियो। प्रहरी बयानमा दुवैले यस्तो तथ्य स्विकारेका थिए।