एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुद्द्वारा उपत्यका बन्द

काठमाडौं – एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार मध्यान्ह १२ बजेसम्म उपत्यका बन्द गर्ने भएको छ ।

बिहीबार साँझ जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा आफ्ना कार्यकर्ता कुट्नेलाई कारबाही गर्न प्रशासन गम्भीर नभएको भन्दै १२ बजेसम्म बन्द गरिने अनेरास्ववियु उपाध्यक्ष लक्ष्मण लम्सालले जानकारी दिए । गृहमन्त्री भीम रावलले वार्ताका लागि बोलाए पनि अन्तिम समयमा उनले आफू वार्तामा बस्न नभ्याउने जानकारी दिएका थिए ।

वार्तामा प्रशासनका तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी लक्ष्मी ढकाल, एसपी रमेश खरेल तथा अखिल अध्यक्ष माधव ढुंगेल, उपाध्यक्ष लक्ष्मण लम्साललगायत बसेका थिए ।

त्रिचन्द्र क्याम्पसमा नेविसंघको आक्रमणमा आफ्ना कार्यकर्ता गम्भीर घाइते भएको भन्दै अनेरास्ववियुले शुक्रबार बन्द आहृवान गरेको हो । अनेरास्ववियुले बिहीबार साँझ राजधानीमा मसाल जुलुस निकालेको थियो ।

उनीहरुले बुधबार दोषिलाई पक्राउ गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी ढकाललाई ज्ञापन बुझाएका थिए ।