मधेसमा सशस्त्र संघर्षको रणनीतिसहित नयाँ संगठन घोषणा गरेका राज्यमन्त्रीलाई कारबाही गर्न फोरम लोकतान्त्रिकका सभासद्हरुको माग

– शेखर अधिकारी

 

काठमाडौं – मधेसमा सशस्त्र संघर्षको रणनीतिसहित नयाँ संगठन घोषणा गरेका भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार शाहलाई कारबाही गर्न फोरम लोकतान्त्रिकका सभासद्हरुले माग गरेका छन् ।

बिहीबार बसेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को संसदीय दलको बैठकमा अधिकांश सभासदहरुले शाहमाथि अनुशासनको कारबाही गर्न माग गरेका हुन् । शाहले आफ्नो पक्षमा रहेका भनिएका सभासद्हरुले पनि आफूहरु पार्टी छाडेर नजाने बताएका थिए ।

राज्यमन्त्री शाहले मंगलबार राजधानीमा एक कार्यक्रम गरी मधेसमा सशस्त्र संघर्षको रणनीतिसहित नयाँ संगठन निर्माण गरेको घोषणा गरेका थिए । त्यसअघि कृषि राज्यमन्त्री करिमा बेगम, फोरम लोकतान्त्रिक संसदीय दलका सचिव रामानन्द मण्डललगायतले बागबजारको एक होटलमा बसेर ‘मधेस क्रान्ति फोरम’ खोल्ने निर्णय गरेका थिए ।

दुई दिनसम्म संगठन निर्माणबारे छलफल गरेकी कृषि राज्यमन्त्री बेगमले आफू शाह नेतृत्वको संगठनमा नभएको बताएकी थिइन् । ‘म बसुन्जेल संगठन निर्माण गर्ने कुरा भएको थिएन, खाली मधेसलाई सचेत बनाउन एउटा अभियान चलाऊँ भन्ने कुरा भएको थियो,’ वेगमलाई उद्धृत गर्दै एक सभासदले भने, ‘म हिंडेपछि संगठन पनि बनेछ, मलाई यसबारे थाहा छैन, उनलाई पार्टीले कारबाही गर्नुपर्छ ।’

समयअभावमा बिहीबार शाहको संगठनमा रहेको भनि प्रचार गरिएका सभासद्हरुले बोल्न पाएनन् । बैठकमा २६ सभासद् उपस्थित थिए । २८ सभासद् मध्ये महिला तथा बालबालिका मन्त्री सर्वदेव ओझा उपत्यका बाहिर रहेकाले बैठकमा गएका थिएनन् । नयाँ संगठन घोषणा गर्ने शाह पनि बैठकमा गएनन् ।

बिहीबारको बैठकमा अध्यक्ष विजयकुमार गच्छदार, कृषि राज्यमन्त्री करिमा बेगम, सभासद तिलक रावल र भीमलाल राजवंशीले बोलेका थिए ।

बैठकमा शाहलाई कारबाही गर्न अनुशासन समिति बनाउने विषयमा पनि छलफल भएको छ । ‘सम्भवतः सञ्जय शाहको फँटाइबारे छानबिन गर्न अनुशासन समितिले कारबाही अघि बढाउँछ,’ लोकतान्त्रिकका एक नेताले भने ।

राज्यमन्त्री शाह माधवकुमार नेपाल नेतृत्वको सरकार गठन हुँदा मधेसी जनअधिकार फोरमबाट टुक्रिएको मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)का संस्थापक केन्द्रीय सदस्य हुन् । शाह मधेसी जनअधिकार फोरमबाट संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित भएका हुन् ।