एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आव्हान गरेको उपत्यका बन्द सकियो (भिडियो सहित)




 

संचारमाध्यमहरुले जनाए अनुसार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आव्हान गरेको उपत्यका बन्द सकिएको छ । घोषित कार्यक्रम अनुसार बन्दको अवधि सकिएपछि राजधानीका सडकमा यातायात सुचारु भएको छ ।अखिलले मध्यान्ह १२ बजेसम्म उपत्यका बन्द गरेको थियो । अखिल समर्थितहरु बिहानैदेखि बन्द गराउन सडकमा ओर्लिएका थिए ।

प्रहरीले बन्द गराउँदै हिडेका दर्जनौं अखिल कार्यकर्तालाई पक्राउ गरेको छ । लेनचौर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । सवारी आवागमनमा अवरोध पुर्‍याउन खोज्ने १ सय ४५ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालले बताए । बन्दका क्रममा कुनै अप्रीय घटना नभएको र स्थिति नियन्त्रणमा रहेको उनले जनाए । ल क्याम्पसबाट अनेरास्ववियुका सचिव मुकुन्द अधिकारी, सचिवालय सदस्य सुदर्शन ढुंगाना,केन्द्रीय सदस्य विदुर गिरी लगायत पक्राउ परेका छन् ।

राजधानीमा क्याम्पस अगाडिको बाटोमा बन्दको प्रभाव बढी देखिएको थियाे । अन्यत्र आशिंक रुपमा सवारी साधन र बजार व्यवसाय संचालनमा रहेको छ । सडकमा प्रहरीको उपस्थिति बढाइएको छ । बन्दका कारण शैशिक संस्थाहरु प्रभावित भएको छ । बन्दले गर्दा स्नातक तह द्वितिय तहको परीक्षा पनि प्रभावित भएको छ । अपरान्ह १२ बजेबाट हुने परीक्षाका लागि परीक्षार्थीहरु पैदल हिडेर पुगका छन् । परीक्षा आधा घण्टा ढिलो सुरु भएको छ ।

त्रिचन्द्र क्याम्पसमा पुस ४ गते आफ्ना कार्यकर्तालाई नेविसंघ समर्थितले खुकुरी प्रहार गरी हत्या गर्न खोजेको अखिलको आरोप छ । अखिलले उक्त घटनामा संलग्नलाई कारवाहीको माग गर्दै बन्द गराएको हो ।