प्रधानमन्त्री माधवकुमार नेपापलद्वारा संसदको अधिवेशन अविलम्ब बोलाउने विचार व्यक्त

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार प्रधानमन्त्री माधवकुमार नेपापलले संसदको अधिवेशन अविलम्ब बोलाउने बताएका छन् । संविधानसभाका ठूला तीन दलबीच सात दिन भित्र नियमित अधिबेशन बोलाउने सहमित पछि बिहीबार बिशेष अधिवेशन अन्त्य गरिएको थियो ।

शुक्रबार बुटवलमा औद्यौगिक व्यापार मेला तथा कृषि एवं पर्यटन पर्वद्धन महोत्सवको उद्‌घाटन गर्दै प्रधानमन्त्री नेपालले सहमतिको बाटो खोल्न आवश्यक रहेकाले त्यसको लागि संसदको अधिवेशन बोलाउन सरकार दृढ रहेको बताए ।

बिहीबार माओवादी, काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले माओवादीले विशेष अधिवेशनका लागि राखेको दुई प्रस्ताव फिर्ता लिने र सरकारले एक साता भित्र संसदको नियमित अधिवेशन बोलाउने सहमति निर्णय गरेको थियो । त्यसै अनुरुप माओवादीले प्रस्ताव फिर्ता लिएपछि संसदको बिशेष अधिवशेन अन्त्य गरिएको थियो ।

प्रधानमन्त्री नेपालले संसद बोलाउने बारेमा सत्ता र विपक्ष दुवैसंग छलफल भैरहेको पनि बताए । ‘म सहमतीबाट निकास खोल्न सधै तयार छु’ उनले भने । शुक्रबार बुटवलमा आउनु परेकाले अबिलम्ब संसद बैठक बोलाउंछु भनेपनि नसकेको बताउँदै शनिबार छोडेर आइतबारसम्ममा अधिवेशन बोलाउने उनले संकेत गरे । सबै दलसित उचित सहमती र सहकार्यको राजनीति गरेर अघि बढ्न आफु इच्छुक रहेको भन्दै उनले त्यसकालागि आफु जस्तोसुकै त्याग गर्न तयार रहेको दोहोर्याए ।