सेना समायोजन विशेष समितिका १२ सदस्य माओवादी लडाकुको मत बुझ्न चितवनमा

काठमाडौं – प्राप्त समाचार अनुसार  सेना समायोजन विशेष समिति सचिवालयका १२ सदस्य माओवादी लडाकुको मत बुझ्न शनिबार चितवन गएका छन्। नेपाली सेनाका युद्धकार्य निर्देशक सहायकरथी महेश कार्की, नेपाल प्रहरीका डिआइजी केशबहादुर शाही र सशस्त्र प्रहरीका डिआइजी सिंहबहादुर श्रेष्ठ, माओवादीका चौथो डिभिजन कमाण्डर तेजप्रकाश ओलीसहित प्राविधिक समितिको टोली चितवन पुगेको हो।

 

संचारमाध्यमहरुले जनाए अनुसार  टोलीमा सचिवालय संयोजक बालानन्द शर्मा, सदस्य चन्द्रप्रकाश खनाल, कुलबहादुर केसी, शम्भुराम सिम्खडा, गोपालसिंह बोहरा, दीपकप्रकाश भट्ट, रामानन्द मिश्र र सदानन्द कुर्मी पनि छन्। राष्ट्रसङ्घीय शान्ति मिसन (अनमिन) का वरिष्ठ राजनीतिक मामिला अधिकृत मोहम्मद रशिद इराकी, हतियार अनुगमनकर्ता प्रमुख मिराण्डा मार्कोश पनि चितवन पुगेका छन्।

भदौ ३१ गतेको विशेष समिति बैठकले आठ सदस्यीय प्राविधिक समितिमा सेना, प्रहरी, सशस्त्र र माओवादीका एक/एक प्रतिनिधि थपेर १२ सदस्यीय सचिवालय बनाएको थियो। उनीहरूले आइतबार शक्तिखोरस्थित तेस्रो डिभिजनका लडाकु कमाण्डरहरूसँग सेना समायोजन र पुनर्स्थापनाबारे छलफल गर्नेछन्।

‘शान्ति प्रक्रियामा सकारात्मक सन्देशका लागि यो भ्रमण गरिएको हो,’ सचिवालय सदस्य भट्टले नागरिकसित भने- एकापसमा विश्वासको वातावरण बनाउनका लागि कमाण्डरसँग सामान्य छलफल र कुराकानी हुने कार्यक्रम छ।

माओवादी सेनाका प्रवक्तासमेत रहेका खनालले कमाण्डरहरुसँग भेटघाट गरेलगत्तै समायोजनबारे नमिलेका मुद्दाहरुमा सचिवालय सदस्यहरूबीच छलफल हुने बताए। ‘लडाकुको पुनर्स्थापना र राजनीतिकरुपमा जान चाहनेहरुको पहिलेदेखि छलफल चलिरहेको थियो, त्यसबारे पनि चितवनमा बसेर छलफल सोच बनाएका छौं।