विराटनगर – मोरङमा रहेको वन तथा जङ्गल क्षेत्रमा अवैधरुपमा रुखको कटानी, तस्करी र चोरी निकासीमा संलग्न रहेको आरोपमा ९० जनामाथि मुद्दा दायर गरिएको छ ।
जिल्ला वन कार्यालय मोरङका अनुसार वन संरक्षणका लागि खटिएको टोलीले नियमित अनुगमन गरी चार महिनाको अवधिमा ती व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा दायर गरेको हो ।
अदालती कारबाहीका कारण काठको चोरी निकासी र तस्करी धेरै हदसम्म नियन्त्रणमा आएको वन कार्यालयको दाबी रहेको छ । विगत चार महिनामा आठ ट्र्याक्टर, दुई ट्रक, एक वस, छ साइकल र एक थान नक्कली चाइजिन पेस्तोल नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय मोरङका प्रमुख लालनारायण सिंहले बताए ।
उक्त अवधिमा २१ वटा मुद्दामा ९० जना विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला वन कार्यालयले जनाएको छ । वन कार्यालय मोरङको एक तथ्याङ्कअनुसार रु पाँच हजारभन्दा बढीको बिगोमा ३१ जनालाई पक्राउ गरी कारबाही गरिएको छ भने सोही मुद्दाका नौ आरोपी फरार छन् ।
यस्तै पाँच हजारभन्दा बढीको बिगोमा जिल्ला अदालतमा मुद्दा चलाइएका ५० जनामध्ये १९ जनालाई पक्राउ गरिएको छ । अरू ३१ जना फरार रहेको बताइएको छ ।
सोही अवधिमा करिब ९४ क्युफिट काठ र एक चट्टा दाउरा बराबरको रकम बिगो असुली भएको प्रमुख सिंहले जानकारी दिए ।
अदालतमा करिब एक हजार क्यूफिट काठ चोरी निकासी सम्बन्धमा मुद्दा चलिरहेको जानकारी कार्यालयले दिएको छ ।
मोरङ जिल्लाको वन क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा निकासी सम्बन्धमा राष्ट्रिय नीति नबनेसम्म ती वस्तु निकासीमा रोक लगाइएको जानकारी समेत सिंहले दिए ।
हाल मोरङमा ७० हजार सुकुम्बासी रहेको र तिनीहरुको नाममा हुकुमवासीहरुले वन जङ्गल कटानी गरी वन क्षेत्र अतिक्रमण गरेकोले संरक्षित वन जङ्गलको क्षेत्रफल घट्दै गएको कर्मचारीहरुले बताउँछन् । रासस



