तुलसीपुर, दाङ – – प्राप्त समाचार अनुसार दुई बर्षअघि माओवादीबाट मातृका यादबले नेतृत्व गरेको माओवादीमा प्रवेश गरेका ४३ जनाले पार्टी त्याग गरेका छन् । १४ जिल्ला सेक्रेटरी सहितका ४३ जना नेताले आइतबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी पार्टी छाडेर स्वतन्त्र बसेको जानकारी दिए ।
नेताहरुले सत्ताको भर्याङ मात्रै बनाएकाले स्वतन्त्र बस्न खोजेको उनीहरुले बताए । दाङका ९, पाल्पाका ८, रुपन्देहीका ४, स्याङजा, काठमाडौ र बर्दियाका ३ तथा बझाङ, सुर्खेत, जाजरकोट, प्युठान, ओखलढुंगा, बैतडी र बाँकेका एक/एक जिल्ला नेतासहित क्षेत्रीय समिति सदस्य समेतले पार्टी छाडेका हुन् ।
पार्टी छाड्नेमा क्षेत्रीय सदस्य सुमन खत्री, रुपन्देहीका सेक्रेटरी गोपाल कुँवर, अर्घाखाँची इञ्चार्ज सूर्य मगर, स्याङजा इञ्चार्ज रमेश बुढा, दाङ सेक्रेटरी आजाद केसी, पाल्पा सेक्रेटरी भोला बस्याल, स्याङजा सेक्रेटरी भिप चापागाइ, किरात राज्य समिति सदस्य अखण्ड बिद्रोही, बाँके सचिवालय सदस्य प्रेम थापा, दाङ सचिवालय सदस्य एमपी शर्मा, काठमाडौ सचिवालय सदस्य बिष्णु पौडेल, पाल्पा जिल्ला सदस्य कमल थापा, कृष्ण भण्डारी, रुपन्देही जिल्ला सदस्य तुलसी बिक, युवा सुरक्षा बल काठमाडौ संयोजक केशव दाहाल लगाएतका छन् ।
अब छिट्टै भेला गरेर नयाँ कार्ययोजना बनाउने उनीहरुले जानकारी दिएका छन् । पार्टी त्यागेका नेताहरुले दुवै माओवादीले क्रान्तिका ठूला कुरा मात्रै गरेको, जनतालाई पटकपटक आन्दोलनका नाममा भुलैयामा पारेको, पार्टी नेतृत्व आर्थिक प्रलोभन र भ्रष्टाचारमा लागेको, जनता र कार्यकर्ताका कुरा सुनुवाइ नभएको जस्ता आरोप लगाएका छन् ।
‘दश बर्ष लडेर अहिले स्वतन्त्र बस्ने निर्णय गर्नुपर्दा निकै दुःख लागेको छ । नेताहरुले हामीलाई प्रयोग मात्रै गरे,’ पाल्पा जिल्ला सेक्रेटरी भोला बस्यालले भने, ‘एउटा माओवादीले अलपत्र पार्यो, अर्को माओवादीमा गइयो, त्यसमा पनि समय बिताउने बाहेक केही भएन । पार्टी नेताहरु आफ्नो स्वार्थमा मात्रै तल्लिन रहे ।’



