काठमाडौ – पूर्व राजाका तत्कालिन सैनिक सचिव विवेक शाहले भारतले देहरादून नजिकैको चक्रातास्थित कमाण्डो तालिम केन्द्रमा माओवादीलाई तालिम दिएको दावी गरेका छन् । त्यही केन्द्रमा भारतले श्रीलंकका तमिल टाइगर्स, बंगलादेशको मुक्ति बाहिनी र बिद्रोही तिब्बति खम्पाहरुलाई तालिम दिएका थिए ।
भारतले माओवादीलाई संरक्षण र सहयोग दिएको भन्ने अनेक संवेदनशील प्रसंग आफू सैनिक सचिव छँदा जानकारीमा आएको शाहको भनाइ छ । त्यस क्रममा उनले २०६० असारतिर सशस्त्र प्रहरीको एउटा कम्पनी भारतको देहरादूननजिक चक्रातामा कमान्डो तालिम लिन जाँदा पाएको सूचना उल्लेख गरेका छन् ।
त्यहाँबाट फर्केका एक इन्स्पेक्टरले आफ्नो गुल्मले चक्रातामा जहाँ तालिम लिएको थियो, एक महिनाअघि माओवादी टोलीले पनि त्यही स्थानमा तालिम लिएको रिपोर्ट बुझाएका थिए । ती इन्स्पेक्टरको भनाइमा, ‘सशस्त्रको टोलीलाई तालिम दिने क्रममा जस्तो स्यान्ड मोडल बनाइएको थियो, हुबहु त्यस्तै स्यान्ड मोडल माओवादीले दाङको सतबरिया, अछामको मंगलसेन र संखुवासभाको चैनपुर आक्रमणमा प्रयोग गरेका थिए ।’
तालिम केन्द्रबाहिरका चिया पसलेले समेत ‘योभन्दा अगाडि नेपालबाट तालिमका लागि आएको टोलीमा महिला पनि थिए तर तपाईंको टोलीमा महिला रहेनछन्’ भनेको पनि ती इन्स्पेक्टरले उल्लेख गरेका थिए । त्यस्तै एकजना प्रशिक्षकले ‘भारतले यो के गरेको होला, नेपालका माओवादी र नेपालकै सशस्त्र प्रहरीलाई पालैपालो तालिम दिइरहेको छ’ भनेका थिए ।
भारतले श्रीलंका तमिल विद्रोही, बंगलादेशका मुक्ति बाहिनी र तिब्बतका खम्पाहरूलाई चक्राताको त्यही ‘इस्ट्याब्लिसमेन्ट-२२’ नामक अमेरिकाले बनाइदिएको ‘कम्प्लेक्स’ मा तालिम दिएको थियो । नेपालका माओवादीलाई समेत त्यहीं तालिम दिइएको सूचना आएपछि आफूले राजा ज्ञानेन्द्रसमेतको सहमतिमा गुप्तचर विभागका पूर्वडीआईजी लालबहादुर थापालाई २०६० साउनमा गोप्य अनुसन्धानमा खटाएको शाहले खुलासा गरेका छन् ।
चक्राता क्षेत्रको जानकार भएकाले थापालाई उक्त जिम्मेवारी दिइएको र उनी त्यही वर्ष दसैं-तिहार ताका त्यहाँ जाने तय भए पनि त्यसपश्चात् उनी ‘बेपत्ता’ भएको तर आफूचाहिँ सैनिक सचिवबाटै पदमुक्त हुनुपरेको विवरण शाहले उल्लेख गरेका छन् । उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०६० कात्तिकमा राजीनामा मागेका थिए ।



