काठमाडौ – तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा राजदरवारबाटै प्रतिनिधि सभाको बिघटन गरिएको खुलासा भएको छ । पूर्व सैनिक सचिव विवेक शाहको प्रकाशोन्मुख संस्मरणत्मक पुस्कत ‘मैले देखेको दरवार’ ले यो रहस्य खोलेको हो ।
संविधानत संबैधानिक राजाले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभाको विघटन गर्ने व्यवस्था थियो । तर, पुस्तकमा उल्लेख भएअनुसार प्रधानमन्त्री देउवाले दरवारमै कार्यालयको लेटरप्याड मगाएको र राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले प्रधानमन्त्रीको सिफारिस तयार पारेको उल्लेछ ।
उनले पुस्तकमा लेखेका छन्, ‘महाराजाधिराज र प्रधानमन्त्रीबीच २०५९ जेठ ८ गते राति राजदरबारमा प्रतिनिधिसभा विघटन गरी नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २७ गतेको मिति तोक्न सहमति भयो । त्यसपछि प्रधानमन्त्री देउवाले राति नै दरबारमा आफ्नो कार्यालयको लेटर प्याड र स्ट्याम्प मगाउनुभयो । लेटर प्याड आएपछि सचिव बैठकमै प्रमुख सचिव पशुपतिभक्त महर्जनले प्रधानमन्त्रीको भाकामा प्रतिनिधिसभा विघटन र चुनावको मिति तोकिएको सिफारिस पत्रको व्यहोरा लेखी टाइप गराउनुभयो । महाराजाधिराजलाई सिफारिस गरिएको उक्त पत्रमा प्रधानमन्त्री देउवाले सरकारकै सामुन्ने हस्ताक्षर गर्नुभयो । हस्ताक्षर भएलगत्तै महाराजाधिराजबाट ‘प्रधानमन्त्रीको सिफारिसबमोजिम’ प्रतिनिधिसभा भङ्ग गरिबक्सी मध्यावधि निर्वाचनको मिति घोषणा गरिबक्स्यो ।’
– कान्तिपुर