काठमाडौ – जलवायु परिवर्तन परिषदको छैटौं बैठकले जलवायु परिवर्तन राष्ट्रिय नीति, २०६७ को मस्यौदा पारित गरेको छ । परिषद्का अध्यक्ष प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सम्पन्न बैठकले उक्त मस्यौदा पारित गरेको हो ।
बैठकमा पाचौं बैठकको निर्णय कार्यान्वयनको स्थिति, जलवायु परिवर्तन सम्बन्धी महासन्धिको क्यानकुन सम्मेलनको गतिविधि, राष्ट्रिय अनुकूलन कार्यक्रम-नापा)को कार्यान्वयन तथा अन्य जलवायु परिवर्तन सम्बन्धी कार्यहरु, जलवायु परिवर्तन राष्ट्रिय नीति, २०६७-मस्यौदा) लगायतका ६ वटा एजेण्डाहरुमा छलफल भएको थियो ।
बैठकमा गृहमन्त्री भीम रावल, वनमन्त्री दीपक बोहरा, ऊर्जामन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री महेन्द्र राय यादव, वातबरण मन्त्री ठाकुरप्रसाद शर्मा, मुख्य सचिव, सम्बन्धित मन्त्रालयका सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्य डा. दिनेशचन्द्र देवकोटालगायतको उपस्थिति रहेको थियो ।
बैठकमा बोल्दै प्रधानमन्त्री माधवकुमार नेपालले कोपनहेगनहुँदै क्यानकून सम्मेलनसम्म पुग्दा जलवायु परिवर्तनको असर न्युनिकरण गर्दै अगाडि बढ्ने सन्दर्भमा नेपालले उपलब्धि हाँसिल गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको विषय महत्वपूर्ण बन्दै गएको चर्चा गर्नुहुँदै यसबाट अन्तराष्ट्रिय क्षेत्रमा नेपालले आफ्नो थप पहिचान र भूमिका उजागर गर्दै प्रत्यक्ष लाभ लिनसक्ने सम्भावना औंल्याउनुभयो । उहाँले तिनै सम्भावनालाई ध्यानमा राख्दै सरकारले जलवायु परिवर्तनको मुद्दालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले जलवायु परिवर्तन राष्ट्रिय नीति निर्माणमा ढिलाई भएकोमा चासो व्यक्त गर्दै आगामी दिनमा तत्काल नीति निर्माण गरी कार्यान्वय गर्दै अगाडि बढ्नुपर्नेमा सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले वन विनासमा संलग्न हुनेहरुमाथि कारवाही नभएकोमा वन मन्त्री र गृहमन्त्रीको पनि गराउनुभयो । साथै, उहाँले वन विनासमा संलग्न दोषी डिएफओ, प्रहरी, सामुदायिक वनका पदाधिकारीहरु जोकोही संलग्न भएको पाइए पनि तत्काल उनीहरुमाथि कारबाही गर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्रीले सबैको सुझावलाई ध्यान दिँदै जलवायु परिवर्तन राष्ट्रिय नीतिलाई अन्तिम रुप दिन निर्देशन दिनुभएको थियो ।