वर्तमान अवस्थामा सरकार निर्माणमा चक्रीय प्रणाली नै उपयुक्त : युवा नेता गगन

इनरुवा – कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान अवस्थामा सरकार निर्माणमा चक्रीय प्रणाली नै उपयुक्त हुने बताएका छन् । अहिलेको संक्रमणकालमा दलहरुबीच सहमतिको सरकार बन्न सक्ने अवस्था नरहेकोले चक्रीय प्रणालीको कुनै विकल्प नरहेको उनले बताए ।

 

सुनसरी सदरमुकाम इनरुवामा बिहीबार संचारकर्मी सँग कुरा गर्दै उनले वर्तमान सक्रमणकालको समयलाई तीन भागमा बाँडेर चक्रीय प्रणालीमा जानुपर्ने आवश्यकता औल्याए । दलहरु चक्रिय प्रणालीमा सहमति गरी सुरुमा कांग्रेस , त्यसपछि माओवादी र अन्तिममा एमालेलाई सरकार निर्माणको जिम्मेवारी दिनुपर्ने थापाको भनाइ थियो ।

 

वर्तमान अवस्थामा नेपाली कांग्रेस भित्र सरकार गठनको कुरालाई प्राथमिकता पाएको भन्दै उनले सरकार गठनको बारेमा  माओवादी कांग्रेस भित्र खेल्न खोजेको आरोप लगाए । नयाँ सरकार गठन भएपछि मात्र नेपाली कांग्रेस भित्र पदाधिकारी मनोनयनको टुंगो लाग्ने थापाले बताए । पार्टी भित्र सबैलाई मिलाएर लग्नुपर्ने जिम्मेवारी सभापतिको भएकोले पदाधिकारी मनोनयनमा पनि आफ्नो जिम्मेवारी अनुसार क्षमता देखाएर सभापतिले सबैलाई मिलाएर लानुपर्ने थापाको भनाइ छ ।