म्याग्दी, बाबियाचौर – बिहीबार रातिदेखि मुस्ताङमा भएको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपात भएका कारण मुस्ताङको एकमात्र जोमसोम विमानस्थल शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ ।
मुक्तिनाथ, छुसाङ, लोमान्थाङ, घमी, सुर्खाङलगायत गाविसको जनजीवन प्रभावित बनेको हो । हिमपातसँगै चलेको चिसो बतासका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैन ।
म्याग्दी जिल्लाको उच्च पहाडी भूगोलमा अवस्थित गुर्जा र बागलुङको ढोरपाटन, मरेनी, जलजलालगायतका ठाउँमा पनि सामान्य हिमपात भएको छ । शुक्रबार बिहानैदेखि कुहिरो लागेर चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । दिउँसोदेखि वर्षा हुन थालेपछि जाडो बढेको अनुभव हुन थालेको हो ।
बेनी, दरवाङ, दाना, ताकम, बाबियाचौरलगायतका ठाउँमा सर्वसाधारणले घर, पसल अगाडि तथा चोकमा न्यानोका लागि आगो बालेर बस्न थालेका छन् । चिसो बढ्दै गएपछि सदरमुकाममा रहेका सरकारी कार्यालयमा सेवाग्राहीहरूको चाप घटेको छ ।
उपल्लो मुस्ताङवासी जाडो छल्दै न्यानो ठाउँमा घुम्ती व्यापार गरिरहेका छन् । उनीहरूले हिमाली भेगमा पाइने जिम्बु, सुकेको माछा (सिद्रा), सत्तुवा, यार्चागुम्बालगायतका अन्य विभिन्न जडीबुटी र कपडाको व्यापार गर्दै आएका छन् ।
चिसो बढेपछि मुस्ताङ विद्यालयहरू बन्द भएका छन् । मुस्ताङमा मङ्सिरमा शैक्षिकसत्र सकेर पुस र माघमा जाडो बिदा गरी फागुनदेखि नयाँ शैक्षिकसत्र सुरु हुन्छ ।
म्याग्दीको गुर्जा, लुलाङ, मुना, मुदी, देविस्थान, रुम, पाखापानी, चिमखोला, शिख, घारा, दानालगायत ठाउँका किसान पनि जाडो छल्न पशुको गोठ लिएर बेसीमा झरेका छन् ।
पहाडी जिल्लाका उडान सेवा ठप्प
बाँके, खजुरा – हिमपातका कारण मध्य तथा सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानैदेखि परेको हिमपात र हुस्सुले पहाडी जिल्लामा हुने उडान सेवाहरू प्रभावित भएका छन् ।
नेपालगन्जबाट उडान हुने डोल्पा, हुम्ला, जुम्ला, बाजुरा र रुकुमलगायतका पहाडी जिल्लाहरूमा बिहानैदेखि सबै उडान ठप्प रहेको नागरिक उडड्यन कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका अनुसार पहाडी जिल्लाहरूमा परेको हिमपात तथा हुस्सुले मौसममा खराबी आएपछि उडानहरू ठप्प भएका हुन् ।
तराईका जिल्लाहरूमा पनि घाम नलागेपछि चिसो बढेको छ । रासस



