सत्तामाथि माओवादी धावा : आम हड्ताल

मे १ देखि सुरु भएको माओवादीको अनिश्चितकालीन आम हड्ताल ६ दिनमै टुंगियो। ठूलो संख्यामा कार्यकर्ता राजधानी भित्र्याएर जनजीवन ठप्प पारेको माओवादीको आन्दोलनको उद्देश्य अनिश्चित हुँदा अनिश्चितकालीन हड्ताल ६ दिनमै समेटिएको थियो। करिब २ लाख कार्यकर्ता माओवादीले आन्दोलनमा उतारेको थियो। माओवादीको आन्दोलन तेस्रो दिनसम्म समान्य चल्यो। नाचगान र शान्तिपूर्ण आन्दोलन चौथो दिन पुग्दा हिंसात्मक बन्ने देखियो। माओवादीले गरेको आन्दोलनमा उपत्यकाबासीले सुरुमा चासोमात्र दिएनन् पछि त त्यसकै विरुद्धमा उत्रिए। उपत्यकाका गोङ्गबु, गोल्फुटार, जोरपाटी, पाटन लगायतका क्षेत्रमा आन्दोलनको प्रतिकार गर्दै सर्वसाधारण सडकमा उत्रिए।
आन्दोलनकारी र सर्वसाधारणबीच नै भिडन्त हुनसक्ने स्थिति बन्यो। यही बीच नेपाल उद्योग वाणिज्य महासंघले शान्ति सभाको आयोजना गर्ने घोषणा गर्यो। सभा स्थगित गर्न माओवादी नेतृत्वले चालेक कदमहरु एकपछि अर्को निष्तेज भए। शान्ति र्यालीमा सोचेभन्दा धेरै मानिस सेतो पहिरनमा भेला भए। अन्तत: जनताको समर्थनबिना माओवादीले गरेको सडक आन्दोलन असफल भयो। यसले माओवादीभित्रै पनि विद्रोह गर्नुपर्छ भन्ने धारलाई कमजोर बनायो। माओवादीले ‘सत्ता कब्जा गर्न जाने’ भन्दै ल्याएका कार्यकर्ताहरु निरास भएर राजधानीबाट बाहिरिए। आम हड्तालले माओवादीलाई बलियो बनाउनुको साटो कमजोर प्रमाणित गर्यो।
प्रधानमन्त्रीको चुनाव गरेको गर्यै

माधवकुमार नेपालले राजीनामा गरेपछि प्रधानमन्त्रीका दावेदारहरु थिए नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेपाली कङ्ग्रेसका रामचन्द्र पौडेल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल। चुनावी तयारी हुँदै थियो एमाले उमेद्वार खनाल आफ्नै पार्टीको ‘चेपुवा’मा परेर निर्वाचन प्रकियाबाट बाहिरिए। प्रधानमन्त्री माधवकुमार नेपाललाई असहयोग गरेकै कारण आलोचित खनालको प्रधानमन्त्री बन्ने सपना पार्टीभित्रैबाट समाप्त भयो। त्यसपछि चुनावको प्रतिस्पर्धामा रहे दाहाल र पौडेल। मतका आधारमा तेस्रो ठूलो दल एमालेले तटस्थ बस्ने निर्णय गर्यो। यस्तै निर्णय मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको पनि थियो। केही साना दलहरु पनि तटस्थ नै रहे। बारम्बार बढी मत ल्याए पनि मधेशी जनअधिकार फोरम र माओवादी सभासदकै मतले दाहालले जित्न सकेनन्। सातौ चरणसम्मको चुनाव निर्रथक गयो। त्यसपछि दाहालले चुनावी प्रकृया छाडे। र एक्लो उम्मेद्वार पौडेलको चुनाव यात्रा अझै सकिएको छैन।
बजेट ब्रिफकेस च्यातचुत

सरकार बन्न नसकेको अवस्थामा कामचलाउ सरकारले बजेट ल्याउने या नल्याउने भन्ने विवाद नसुल्टिँदा बजेट विवादले चर्को रुप लियो। नियमितभन्दा चार महिनापछि अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट सार्वजनिक गर्ने कार्यक्रम थियो। माओवादी सभासदहरु विरोधका लागि तयार थिए। विरोध सामान्य थिएन। लडाकुकै शैलीमा उनीहरुले अर्थमन्त्रीमाथि आक्रमण गरे। बजेट बोकेको ब्रिफकेस थुते र च्यातचुत पारिदिए। बजेटसम्वन्धी गोप्य कागजात फ्याँके। यो घटनाले एमाले र कङ्ग्रेसको गठवन्धन थप बलियो देखियो भने माओवादीको पक्षमा बोल्दै आएको फोरमको बोली पनि केही फेरियो। बजेट भाषण च्यात्नुको कारण भने अलि फरक थियो। बजेटमा असहमति भएर होइन कि माओवादी बजेट ल्याउने प्रक्रियाको विरुद्धमा थियो। बजेट ल्याउने क्रममा सरकारले संविधान संशोधनका लागि राष्ट्रपतिका निवदेन गरेको थियो। यो प्रक्रियाको माओवादीले विरोध गर्यो। विरोधपछि सरकारले पुरानै प्रक्रियामा बजेट ल्याउने तयारी गर्यो। र यसमा विवाद सिर्जना भयो। घटनाको भोलिपल्ट सरकारले अध्यादेशबाट बजेट ल्यायो।
कांग्रेस महाधिवेशन म्यान्डेटः कोइराला परिवारलाई नेतृत्व

नेपाली कङ्ग्रेस र कङ्ग्रेस प्रजातान्त्रिकबीच एकता भएपछि पहिलोपटक भएको कङ्ग्रेस महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो। तर, प्रस्ट रुपमा दुई खेमामा कङ्ग्रेस नेताहरु प्रतिस्पर्धामा उत्रिए। पदाधिकारीको संख्याका आधारमा सुशील कोइराला र शेरबहादुर देउवाको खेमा बराबरी जसो विजयी भए। प्रजातान्त्रिक अभ्यासको चुनावसहित सुशील कोइराला सभापतिमा विजयी भए। विचार र सिद्धान्तका बहसले खासै स्थान नपाएको यो महाधिवेशन चुनावका कारण भने चर्चामा रह्यो।
चुनावपछि भने कङ्ग्रेसले सबै पदाधिकारी मनोनयन गर्न सकेको छैन्। देउवा र कोइराला दुबै पक्ष पार्टीमा आफ्नो पक्ष बलियो पार्ने प्रतिस्पर्धामा छन्। यसले पदाधिकारी मनोनयन अझै हुन नसकिरहेको हो।
पालुङ्टारमा माओवादी विवाद
बिहीबार पनि चितवनमा आयोजित एक कार्यक्रममा देउवाले माओवादी प्रति त्यस्तै नरम बिचार राखेका छन् । ‘माओवादीहरु अब जङ्गल फर्कने छैनन्’ उनको भनाइ थियो, ‘हत्याहिंसा र आतङ्कको बाटो उनीहरूले बिस्तारै छाड्दैछन् ।’
तर, उनले आफु माओवादीको कार्डमा भने नफस्ने बताए । साथै आफुमाथि प्रधानमन्त्रीको कार्ड फ्याकेर काँग्रेसभित्र खेल्ने अवसर कसैलाई नदिने प्रतिबद्धता जनाए । केही समययता माओवादीले काँग्रेस भित्र प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेलका बिरुद्ध देउवालाई उभ्याउने कोशिस गरिरहेका छन् ।
ल्होसार पर्वका अवसरमा तमु ह्युल छोंज धिं र गुरुङ राष्ट्रिय परिषद्ले बिहीबार भरतपुरको तीन खोले गुम्बामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले पार्टीको निर्णयका आधारमा प्रधानमन्त्रीको कुरा टुङ्गो लगाइने हुनाले त्यस विषयमा टिप्पणी नगर्न अन्य दललाई आग्रह पनि गरे ।



