सर्लाहीमा उखु किसानको आन्दोलन निस्तेज पार्न कर्फ्यू जारी


 

सर्लाही – संचारमाध्यमहरुले जनाए अनुसार  स्थानीय प्ररशासनले सर्लाही क्षेत्रमा पर्ने पूर्व-पश्चिम राजमार्गको १३ किलोमिटर क्षेत्रमा सोमबार दिनभरीका लागि कर्फ्यू (निषेज्ञ) जारी गरेको छ ।

स्थानीय प्रशासनले पूर्वमा लखनदेही नदी देखि पश्चिममा वाग्मती नदीसम्मको राजमार्ग क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ९ बजेसम्मका लागि कर्फ्यू घोषणा गरेको हो ।

उखुको उचित मुल्य माग गर्दै आन्दोलनरत उखु किसानले बिहान ९ बजेदेखि राजमार्गमा चक्काजाम गर्ने घोषणा गरेपछि स्थानीय प्रशासनले त्यसलाई मध्यनजर गर्दै कर्फ्यू लगाएको हो ।

आइतार दिउसो उखु किसानले आयोजना गरेको तीन घण्टे चक्काजाम खुलाउन खोज्दा भएको झडपमा ४० भन्दा बढि प्रहरी घाइते भएपछि सोमबार कर्फ्यू आदेश जारी गरिएको हो ।

किसानले उखको न्यूनतम् मुल्य ४ सय २१ रुपैयाँ हुनुपर्ने माग राखी पुस १ गतेदेखि नै आन्दोलन गर्दै आइरहेका छन् । स्थानीय प्रशासनले कर्फ्यू घोषणा गरेपछि संयुक्त उखु किसान संघर्ष समितिले बैठक बसेर कर्फ्यू उल्लंघन नगर्ने निर्णय गरेको छ ।

‘कर्फ्यू लगाउले घोषणाले हाम्रो आन्दोलनको उचाइ बढेको छ’ किसान नेता डिल्ली उप्रेतीले भने, ‘हामीले कर्फ्यू उल्लंघन नगर्ने निर्णय गर्‍यौं ।’

अहिले पूर्व र पश्चिमबाट आएका सवारी साधानहरु कर्फ्यू क्षेत्र बाहिर नै रोकिएको छ । गाडीहरुलाई जम्मा गरेर एकै साथ कर्फ्यू क्षेत्र पार गराउने स्थानीय प्रशासनले जनाएको छ ।