तमलोपाले मधेसको मुक्ति, स्वाभिमानको वास्ता नगरेका कारण छुट्टै दल खोल्नु परेको र पार्टीबाट छुट्टिनु पर्दा पीडादायी अनुभव भएको नवगठित तमलोपा नेपालका संयोजकको भनाइ

काठमाडौ – नवगठित तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) नेपालका संयोजक महेन्द्रप्रसाद यादवले महन्थ ठाकुरको नेतृत्वमा रहेको तमलोपाले मधेसको मुक्ति, स्वाभिमान र पहिचानको वास्ता नगरेका कारण छुट्टै दल खोल्नु परेको बताएका छन् । ‘पार्टीबाट छुट्टिनु पर्दा पीडादायी अनुभव भएको छ,’ उनले भने ।

तमलोपा नेपालले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा व्यक्तिवादी स्वतन्त्रता बढेकाले अलग हुनुपरेको स्पष्ट पारे । उनले केही व्यक्तिले नेकपा (एमाले) को लहैलहैमा लागेर पार्टी फुटाएको भने पनि सो आरोप गलत भएको र तमलोपा नेपालमा एमाले बाहेक अन्य पार्टीका नेता पनि रहेको बताए ।

संयोजक यादवले एकीकृत नेकपा (माओवादी) नेतृत्वको सरकार निर्माण भएमा पार्टीले सहयोग नगर्ने तर राष्ट्रिय सहमतिको सरकार निर्माण भएमा सहयोग गर्ने बताए । तमलोपाको संसदीय दलमा रहेका २० सदस्यमध्येबाट यही पुस १६ गते छुट्टिएर तमलोपा नेपाल गठन भएको हो । रासस