नेपाली सेनाद्बारा विकास निर्माण विभागका सहायकरथीमाथि छानबिन गर्न ‘कोर्ट अफ इन्क्वायरी’ गठन

काठमाडौं  – प्राप्त समाचार अनुसार  नेपाली सेनाले विकास निर्माण तथा स्थपति विभागका सहायकरथी किरण बज्राचार्यमाथि छानबिन गर्न ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको छ ।

आफूमाथिका अधिकृतको म्याद नथप्न राजनीतिक लविङ गरेको भन्दै जङ्गी अड्डाले निरीक्षणाधिकृतरथी उपरथी नेत्रबहादुर थापाको संयोजकत्वमा  ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको हो । यसको सदस्यमा सैनिक समाचार निर्देशनालयका प्रमुख रथी सहायक रथी हेम खत्री र महासेनानीद्वय रत्नप्रकाश थापा र नवजीत शमसेर राणा छन् ।

सांगठनिक अनुशासन उल्लंघन गरेको भन्दै सहायकरथी बज्राचार्यलाई पुस १४ गते जङ्गी अड्डाले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । ‘उनीमाथि थप छानबिन गर्नुपर्ने भएकाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन भएको हो,’ नेपाली सेनाको कानुन विभाग प्रमुख उपरथी बीएकुमार शर्माले भने ।

बज्राचार्यले आफू कार्यरत विकास निर्माण तथा स्थपित विभागका प्रमुख उपरथी नरेश बस्नेतको म्याद नथप्ने लविङ गर्न आफू मातहतका सैनिक अधिकृत तथा व्यक्तिहरुलाई समेत साथै लिएर प्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री विद्या भण्डारीलगायतसँग भेट गरेका थिए ।