अनमिनको अनुगमनमा रहेको हतियार सरकारले माग गरेको प्रति माओवादीले आपत्ति

काठमाडौ – प्राप्त समाचार अनुसार अनमिनको अनुगमनमा रहेको हतियार सरकारले माग गरेको प्रति माओवादीले आपत्ति जनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर उक्त आपत्ति जनाएका हुन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच आधा घण्टा जति भएको भेटमा दाहालले आफूसंग कुनै सहमति नगरी सरकारले एकतर्फी रुपमा अनमिनलाई त्यस्तो पत्र पठाएको प्रति आपत्ति जनाए । त्यस्तै अनमिनको म्याद नथप्ने विषयमा पनि सरकारले गरेको पत्राचारप्रति दाहालको आपत्ति थियो ।

स्रोतका अनुसार लडाकुको समायोजन र हतियार व्यवस्थापन विषयमा दलहरुबीच कुनै सहमति नभइसकेको अवस्थामा एकतर्फी ढंगले सरकार अगाडि बढेको भन्दै दाहालले प्रधानमन्त्री समक्ष असन्तुष्टि व्यक्त गरेका थिए ।

पुस मसान्तमा सकिन लागेको अनमिनको म्याद थप नगर्ने पत्र सरकाले संयुक्त राष्ट्रसंघलाई पठाएको छ । साथै सरकारले अनमिनलाई पत्र लेखेर हतियार र गोली गट्ठासहितका कन्टेनरहरु,हतियार र सेनाबारे अध्यावधिक विवरण दिन आग्रह गरेको छ । माओवादी केही समयका लागि अनमिनको म्याद थपिनुपर्ने पक्षमा रहेको छ ।