माओवादी निकट यातायात मजदुर सङ्घको अनिश्चितकालीन हड्तालका कारण झापा दुई दिनदेखि ठप्प

झापा – संचारमाध्यमहरुले जनाए अनुसार  माओवादी निकट अखिल नेपाल यातायात मजदुर सङ्घले गरेको अनिश्चितकालीन हड्तालका कारण झापामा निजी तथा सार्वजनिक यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ ।


गत साउन १० गते मेचीनगर-११ प्यारीभिट्टाकी एक महिलालाई ठक्कर दिएपछि पक्राउ परेका मे१ज ९०७ नं का बसचालक सूर्य दङ्गाललाई विनाशर्त रिहाई गर्नुपर्ने माग गर्दै नेपाल यातायात मजदुर सङ्घले हड्तालको आहृवान गरेको हो । दङ्गाल जिल्ला कारागार झापामा छन् ।


इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार हिजोराति ८ बजे काँकडभिट्टाको कालीखोलामा मेची अञ्चल अस्पतालको बिरामी बोकेको एम्बुलेन्समाथि बन्दकर्ताहरुले आक्रमण गरेका छन् भने सोही स्थानमा बा५च १०२७ नंको मारुती भ्यानमा समेत तोडफोड भएको छ । तोडफोडमा संलग्न चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


बन्दकर्ताले राजमार्गका विभिन्न ठाउँमा अवरोध राखेर यातायातका साधन अवरुद्ध गरेका छन् । धुलाबारीमा बन्द गराउँदै हिँडेका सातजना यातायात मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


बन्दका कारण पूर्वी नाका भएर नेपाल प्रवेश गरेका पर्यटक तथा यात्रीहरु काँकडभिट्टामा अलपत्र परेका छन् ।