संचारमन्त्री शंकर पोखरेलद्बारा अनमिनलाई बिदा नगरेसम्म शान्ति प्रक्रिया अघि नबढने भएकाले उसलाई तत्काल बिदा गर्न लागिएको उल्लेख

हेटौँडा – प्राप्त समाचार अनुसार  सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले राजनीतिक दलहरुको एकता र सहमतिका साथ अगाडि बढेमा सङ्कट समाधान हुने बताउनुभएको छ ।

 

मन्त्री पोखरेलले अनमिनलाई बिदा नगरेसम्म शान्ति प्रक्रिया अघि नबढने भएकाले उसलाई तत्काल बिदा गर्न लागिएको बताएका छन् ।


हेटौँडामा नेपाल टेलिभिजनको प्रसारण केन्द्रको उद्घाटन गर्दै मन्त्री पोखरेलले दलहरुबीचको सहकार्यबाट वैदेशिक शक्तिको नकारात्मक चासो पनि घट्दै जाने धारणा व्यक्त गर्नुभयो ।


एनेकपा -माओवादी) अहिलेसम्म लोकतन्त्रको बाटोमा आउन नसकेका कारण एक्लो बन्दै गएको बताउँदै मन्त्री पोखरेलले विद्रोही मानसिकता र सत्ता कब्जाको रणनीति नत्यागेसम्म अन्य दलले उसलाई सहयोग गर्न नसक्ने उल्लेख गर्नुभयो ।


उहाँले नेपालका राजनीतिक दलहरुले १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौताका बुँदा र आफ्नै घोषणापत्रलाई पनि बिर्सेकाले मुलुकले निकास पाउन नसकेको हो भन्नुभयो ।


मन्त्री पोखरेलले माओवादीका नेताहरु शान्ति र संविधानका लागि विद्रोह गर्ने बताउँदै आए पनि उनीहरुको नियत ठीक नभएकाले अब नेपाली जनताले साथ नदिने उल्लेख गर्नुभयो ।


टेलिभिजनको विकासका लागि सरकारले ध्यान दिएको बताउँदै मन्त्री पोखरेलले गरिब जनतामा नेपाल टेलिभिजनले सूचना र मनोरञ्जनको पहुँच पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।


सयजनामा ५५ जनामा टेलिफोनको पहुँच पुर्‍याउन सरकार लागिपरेको र तीन वर्षभित्र उक्त लक्ष्य पूरा गर्ने योजनाका साथ कार्यक्रम अगाडि बढाइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।


नेपाल विद्युत् प्राधिकरणसँग मिलेर नेपाल टेलिकमसमेतको सहभागितामा विद्युत् आयोजनामा लगानी गर्ने सोचाइ रहेको मन्त्री पोखरेलले बताउनुभयो ।


विकासका लागि लगानी, सचेत जनता आवश्यक पर्ने बताउँदै मन्त्री पोखरेलले दुवै पक्षमा नेपाल सक्षम भएपनि राजनीतिक र आर्थिक स्थायित्वको अभावले विकास अगाडि बढ्न नसकेको हो भन्नुभयो ।


नेपाल टेलिभिजनका अध्यक्ष कुन्दन अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराई, राप्रपाका नवराज बिष्ट, एमाले मकवानपुरका रामेश्वर राना, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रताप बिष्ट, नेपाल टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोपाल दाहाल, सञ्चालक समितिका सदस्य माधव प्रधानसमेतले बोल्नुभएको थियो ।