काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार तराई मधेस लोकतान्त्रिक पार्टीले पार्टी छाडेका दुई मन्त्रीलाई बिहीबार राति १२ बजेसम्ममा पदमुक्त नगरे आफ्नो दलका मन्त्रीहरुलाई शुक्रबार राजीनामा दिन निर्देशन दिएको छ ।
तमलोपा सहअध्यक्ष हृदयष त्रिपाठीले उद्योग मन्त्री महेन्द्र यादव र राज्यमन्त्री दानबहादुर चौधरीलाई राति १२ बजेसम्ममा पदमुक्त नगरे शुक्रबार आफ्ना मन्त्रीहरुले राजीनामा दिने जानकारी दिए । ‘उनीहरु (यादव र चौधरी)लाई आजै रातिसम्म पदमुक्त नगरे हाम्रा बाँकी मन्त्रीहरुलाई भोलि हट्न निर्देशन दिइसकेका छौं,’ त्रिपाठीले भने ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुस १८ गते प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटेर उद्योगमन्त्री यादव र उद्योग राज्यमन्त्री चौधरीलाई तत्काल पदमुक्त गर्न सिफारिस गरेका थिए । उद्योगमन्त्रीसमेत रहेका तमलोपा महामन्त्री यादवसहित नौ जना सभासद्ले एक साताअघि तमलोपा परित्याग गरी तमलोपा नेपाल नामक नयाँ पार्टी गठन गरेका थिए ।
त्रिपाठीले पार्टी फुटाउन सक्रिय दलका नेता नै प्रधानमन्त्री भएकाले पार्टी छाडेका मन्त्रीहरुलाई हटाउन गाह्रो भएको आरोप लगाए । ‘हामीले त पहिलेदेखि नै भन्दै आएका थियौं, हाम्रो पार्टी फुटाउन एमालेको हात छ,’ उनले आरोप दोहोर्याए, ‘त्यो त कृयाकलापले नै पुष्टि भएको छ ।’
सरकारमा तमलोपाकातर्फबाट तीन मन्त्री, एक राज्य र एक सहायक मन्त्री थिए । ती मध्ये एक मन्त्री र एक राज्य मन्त्री छुट्टै दल खोलेर बाहिरिएका हुन् ।



