सप्तरीमा अत्यधिक चिसोले पाँचको मृत्यु, जनजीवन अस्तव्यस्त

– राजु विश्वकर्मा

 

सप्तरी – सप्तरीको नकटी रायपुर गाविसकी ६० वर्षीया सकुन्तलादेवीलाई अचेल निन्द्रा लाग्दैन ।केहीदिन अघिमात्र अति मिल्ने एकजना छिमेकीको अत्यधिक चिसोका कारण मृत्यु भएपछि चिन्ताले उनको निन्द्रा गुमेको हो ।

 

एकअर्काको सुखदुःखमा साथ दिने र सँगै वृद्धकाल बिताउँदै आएकी सकुन्तला एकसाता अघिमात्र छिमेकी सङ्गिनी विमलादेवी यादवलाई गुमाएपछि विक्षिप्त बनेकी छिन् । विमलादेवीको चिसोका कारण मृत्यु भएको थियो ।


राति सुतेकी विमला बिहान ओछयानमै मृत अवस्थामा फेला परेकी थिइन् । अत्यधिक चिसोले रायपुर गाविसकी सकुन्तलालाई मात्र होइन पूरै जिल्लालाई चिन्तामय बनाएको छ । विगत १० वर्षको अवधिमा कहिल्यै यस्तो जाडो नदेखिएको वृद्धवृद्धाहरु बताउँछन् ।


चिसो हावासँगै चलेको शीतलहरले सप्तरीमा विगत एकसाताको अवधिमा पाँचजनाले ज्यान गुमाइसकेपछि सबैको चिन्ता बढेको हो । चिसोले वृद्धवृद्धामात्र होइन, काखेबालकसम्म प्रभावित भएका छन् । चिसोले ग्रामीण क्षेत्रलाई मात्र होइन सदरमुकाम राजविराजका बालबालिकालाई पनि आफ्नो सिकार बनाएको छ ।


गएराति मात्र चिसोका कारण सप्तरीको औरही गाविस-२ निवासी ५५ वर्षीया कपुरदेवी साह र सिमराहा सिँगियौन गाविस-२ का ६७ वर्षीय बेचन यादवको कठयाङ्गि्रएर मृत्यु भएको छ । यसअघि गत बुधबार भारतको सहरसा जिल्ला किसनपुर नगरपालिका-१७ निवासी ३६ वर्षीय विजेन्द्र दासको अत्यधिक चिसोका कारण यहाँ मृत्यु भएको थियो ।


हाल सप्तरीको विसहरिया गाविसस्थित सम्राट इँटा उद्योगमा कार्यरत उनको बुधबार बिहान चिसोले कठयाङ्गि्रएर मृत्यु भएको प्रहरीले जनाएको छ । राति इँटाभट्टा उद्योगस्थित कोठामा साथीभाइसँग सुतेका उनी बिहान मृत फेला परेका थिए ।


यसैगरी हिजो सप्तरीको कोइलाडी मधेपुरा गाविस-९ की खटरीदेवी साफीको चाडोका कारण मृत्यु भएको थियो । गत वर्षको जाडोमा डेढ महिनाको अवधिमा सप्तरीमा १५ जना सर्वसाधारणको मृत्यु भएको थियो । यसरी मृत्यु हुनेमा अधिकांंश विपन्न परिवारका छन् ।


जाडो सुरु भएको केही दिनमै मानिस मर्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली भन्छन्-