पार्टी फुटाउने दुई मन्त्रीलाई प्रधानमन्त्रीले नहटाएको भन्दै तमलोपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार तराई मधेस लोकतान्त्रिक पार्टीले पार्टी छाडेका दुई मन्त्रीलाई पदमुक्त नगरेको भन्दै आफ्नो दलका मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । तर उसले सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदीय दल र केन्द्रीय समितिको बैठकले आफ्नो दलका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सहअध्यक्ष हृदयष त्रिपाठीले जानकारी दिए । प्रधानमन्त्री माधवकुमार नेपाल बनेपाबाट फर्कन ढिला भएकाले शुक्रबार राजीनामा पत्र भने बुझाइएन ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीसँग समय मिलाएर राजीनामा पत्र बुझाउने त्रिपाठीले बताए । ‘राजीनामा पत्र हामीले टाइप गरेर अध्यक्षलाई बुझाएका छौं,’ उनले भने, ‘अध्यक्षले समय मिलाएर प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुहुनेछ ।’

तमलोपाले गठबन्धन सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने निर्णय गरेको छ । ‘बाम-लोकतान्त्रिक सरकारलाई हाम्रो समर्थन जारी रहन्छ,’ उनले प्रष्ट्याए । प्रधानमन्त्रीले ६-६ दिनसम्म पनि पार्टी छाडेका मन्त्रीलाई पदमुक्त नगरेर पार्टी फुटाउन एमालेको संलग्नतालाई पुष्टि गरेको आरोप तमलोपाले दोहोर्‍याएको छ । एमालेले भने यो आरोपको कडारुपमा प्रतिवाद गरेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुस १८ गते प्रधानमन्त्री माधवकुमार नेपालसाग भेटेर उद्योगमन्त्री महेन्द्रराय यादव र उद्योग राज्यमन्त्री दानबहादुर चौधरीलाई तत्काल पदमुक्त गर्न सिफारिस गरेका थिए । उद्योगमन्त्रीसमेत रहेका तमलोपा महामन्त्री यादवसहित नौ जना सभासद्ले एक साताअघि तमलोपा परित्याग गरी तमलोपा नेपाल नामक नयाँ पार्टी गठन गरेका थिए ।

सरकारमा तमलोपाकातर्फबाट तीन मन्त्री, दुई राज्य र एक सहायक मन्त्री थिए । ती मध्ये एक मन्त्री र एक राज्य मन्त्री छुट्टै दल खोलेर बाहिरिएका हुन् ।