काठमाडौंका क्यासिनोमा छापा मार्ने क्रममा ६ नेपाली पक्राउ

– केपी ढुङ्गाना

 

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार  प्रहरीले होटल रेडिसनस्थित क्यासिनो रेड र होटल अन्नपूर्णस्थित क्यासिनो अन्नामा छापा मारेको छ। छापा मार्ने क्रममा भेटिएका ६ नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा रेडबाट ५ जना छन् भने अन्नाबाट १ जना छन्।

 

क्यासिनोहरुमा नेपालीलाई खेलाउन थालेका खबर ब्यापकरुपमा सञ्चारमाध्यममा आएपछि नेपाल प्रहरीले यस्ता क्यासिनोहरुमा छापा मार्ने क्रम सुरु गरेको हो।

यसअघि प्रहरीले क्यासिनो ताराका म्यानेजर मनोज पी सुवेदी तथा क्यासिनो साङ्ग्रिलाका म्यानेजर हर्क ऐरलाई प्रहरीले पक्राउ गरेको थियो। नेपालीलाई जुवा खेलाएको अभियोगमा प्रहरीको वान्डेट सूचिमा रहेका उनीहरुलाई  महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो।

नेपालीलाई जुवा खेलाएको एवं राजस्व नतिरेको अभियोगमा प्रहरीले कात्तिक तेस्रो साता प्रहरीले आठमध्ये एउटाका सञ्चालक र चारवटाका म्यानेजरलाई अभियुक्त बनाउँदै पक्राउ पूर्जी जारी गरेको थियो।

प्रहरीले पक्राउ पुर्जी जारी गरेका एभरेष्ट क्यासिनोका संचालक टिआर भट्ट,क्यासीनो नेपालका जेनेरल म्यानेजर भरतकुमार शाक्य, क्यासिनो अन्नाका संचालक रामकृष्ण चक्रथर, क्यासिनो ताराका जेनेरल म्यानेजर मनोज सुवेदी र क्यासिनो रोयलका जेनेरल म्यानेजर शैलेन्द्रकुमार राणाविरुद्ध क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाएको अभियोग लगाइएको छ।