धनकुटा – प्राप्त समाचार अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । नेपाली राजनीति असाध्यै फोहोरी खेलको रुपमा विकसित हुदै गएको भन्दै उनले बिश्राम गर्ने सोचेको बताएका हुन् । राप्रपा नेपालले आव्ह्रान गरेको जनजागरण अभियानका क्रममा धनकुटा पुगेका नेता थापाले शनिबार सदरमुकाममा सञ्चारकर्मीसंगको भेटमा उक्त कुरा खुलाएका हुन् । उनले राजनीतिबाट टाढिएर खेल जीवनलाई साथ दिने सोच रहेको बताए ।
‘पार्टीले अघि सारेको जागरण अभियान चलिरहेको अवस्थामा कार्यकर्तालाई निराश नबनाउनका लागि सन्यासको मिति तय नगरको हुँ’ उनले भने, ‘तर, राजनीतिको फोहोरी खेलमा रहिरहन सक्दिन्न ।’
कहिले सन्यास लिने भन्ने सञ्चारकर्मीको जिज्ञासामा थापाले थपे ‘तत्काल राजनीतिबाट उम्कन गाह्रो त छ, तर इमान्दारीपूर्वक भन्छु यसको बेला आउँदैछ ।’
लन टेनिसको राष्ट्रिय स्तरका खेलाडी समेत रहेका थापाले राजनीति भन्दा खेल जीवन सन्तोसजनक रहेको पनि बताए । आफू अध्यात्मवाद तिर समेत आकर्षित रहेकोले त्यसतर्फपनि सक्रिय रुपमा लाग्ने थापाले जानकारी दिए । आफ्नो विकल्पमा अरु धेरै योग्य नेता भएकाले आफूले सन्यास लिंदैमा पार्टीको गति र अभियानमा फरक नपर्ने उनको तर्क थियो ।
गणतन्त्रलाई गणतन्त्रवादी भन्नेले नै गाइजात्रे बनाएको भन्दै थापाले आफ्नै पार्टीको सरकार ढाल्ने अनि भोट नहाल्ने जस्ता क्रियाकलापले स्थायी सरकार बन्न नसक्दा जनताले सास्ती खेप्नु परेको दावी गरे ।
यसैगरी उनले आगामी चैतदेखि आफ्नो पार्टी सशक्त आन्दोलनमा उत्रने भन्दै जनताको साथबाट प्रजातान्त्रिक राजतन्त्रात्मक व्यवस्था स्थापित गरेरै छोड्ने समेत दावी गरे ।
राजा सहितको प्रजातन्त्रको पक्षमा र जातीय आधारमा संघीयताको विरुद्धमा रहेको आफ्नो पार्टीले जनमत संग्रहको माध्यमबाट राजतन्त्र र गणतन्त्रको छिनोफानो गरिनु पर्ने सुरुदेखिकै अडानमा राख्दै आएको थापाले जानकारी दिए ।



