काठमाडौ – प्राप्त समाचार अनुसार माओवादी कार्यकर्ताले चितवन र रुकुममा विभिन्न बहाना बनाएर कुटपीट गरेका छन् । रुकुममा विद्यार्थीलाई कुटेका हुन् भने चितवनका काँग्रेस कार्यकर्तालाई कुटेका हुन् ।
रुकुमको चौखाबाङस्थित माओबादीका एरिया इञ्चार्जसहितको एक समूहले स्थानीय विद्यालयमा अध्ययनरत तीनजना बिद्यार्थीलाई शनिवार दिउसो निर्घात कुटपिट गरेका हुन् ।
पुख्र्यौली झगडालाई निहुँ बनाई चौखाबाङ एरिया इन्चार्ज शेरकुमार खडकाको नेतृत्वमा रहेका माओबादीका कार्यकर्ताहरुले चुनस्थित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी कुटपिट गरेका हुन् । चौखाबाङ -६ का कक्षा ८ मा अध्यनरत चन्द्रबहादुर खडका, वडा नं ९ का कक्षा १० मा अध्यनरत प्रबेश रोका र कक्षा १० मा अध्यनरत देवप्रसाद रोकालाई कुटपिट गरेको पिडीतहरुले बताएका छन् । पुरानो जग्गा सम्बन्धी बिवादलाई लिएर आफुहरुलाई कुटेको पिडितको आरोप छ ।
चौखाबाङ -९ स्थित आफन्तको घरमा बसेका उनीहरुलाई सात जनाको समुहले हात खुट्टा बाँधेर लाठीले पालो-पालो पिटेको पिडीत घाईते खड्काले बताए । इन्चार्ज खड्का सहित गोपाल खड्का, नन्दकुमार खड्का, इन्द्रकुमार खड्का, हर्कसिंह खड्कालगायतले आफुहरुलाई पिटेको र गाउँलेहरुले थाहा पाएपछि छोडिएको उनीहरुले बताएका छन् ।
‘पुरानो जग्गाको बिषयलाई लिएर कुटे’ रोकाले भने ‘हामीलाई ज्यान मार्ने योजना बनाएका थिए, तर गाउँलेहरुले बचाए ।’ माओबादी कार्यकर्ताहरु सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक युवराज खड्काले कुटपिट गर्नेहरुलाई खोजी गरिरहेको बताए । पिडितहरुले घरपरिवारलाई ज्यान मार्ने धम्की दिएको समेत गुनासो गरेका छन् । उनीहरुको स्थानिय मेडिकलमा उपचार भईंहेको छ । उनीहरुको खुट्टा तथा शरिरमा निलडामहरु छन् ।
चितवनमा कांग्रेस कार्यकर्ता कुटपिट
शुक्रबार बेलुकी माओवादी कार्यकर्ताले आफ्नै घरमा आगो तापेर बसेका नगवन्तप्रसाद साह र उनकी आमा तारादेवीलाई माओवादीको वाईसीएल कार्यकर्ताले रड प्रहार गरेर घाइते तुल्याएका हुन् । उनीहरु दिउँसो माडीमा भएको काँग्रेसको आमसभामा सहभागी भएका थिए ।
खाना खाएर घर बाहिर आगो तापिरहेको बेला लाठी र रडसहित पुगेका कार्यकताएले केही नबोली कुटेको पीडितले बताए । नगवन्त नेपाल तरुण दल बघौडा गाविस कोषाध्यक्ष हुन् । ‘रिसइबी थिएन’ चितवन मेडिकल कलेजमा उपचाररत उनले भने ‘मलाइ बचाउन आउँदा आमालाई पनि हाने ।’
आमाछोराको टाउकोमा चोट छ । नगवन्तको बायाँ फिलामा रगत जमेको छ । तारादेवीको हातमा चोट छ । ‘छोरा भन्दा आमालाई साह्रो चोट छ,’ चिकित्सक डा. अपूर्व ठाकुरले भने ।
नगवन्तले वाईसीएल बघौडा इन्चार्ज मुक्ति काफ्लेको नेतृत्वमा आएका ८ जनाले कुटेको बताए । नकाव लगाएका कारण अरु चिन्न नसकेको बताए । वाईसीएल जिल्लाले घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दावी गरेको छ । मधेशी मुलका नगवन्त माडीको बसन्तपुर बजारमा मिठाई तथा कपडा पसल गर्दै आएका छन् ।
यसैबीच केन्द्रिय सदस्य गगन थापाले भरतपुरमा शनिवार बिहान पत्रकार सम्मेलन गरी माओवादीले जंगली व्यवहार देखाएको भन्दै घटनाको निन्दा गरे । ‘केन्द्रीय सदस्य माडी गएर जनतालाई भेटेको रातसमेत माओवादी सहिष्णु बन्न सकेन’ उनले भने, ‘माओवादीको यो असभ्य, जंगली र घृणित कामको निन्दा गर्दछु ।’



