परराष्ट्र मन्त्रालयले माघ २ बाट नागरिकता प्रमाणपत्रको आधिकारिकता पुष्टि नगरी राहदानी निवेदन नबुझ्ने

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार परराष्ट्र मन्त्रालयको केन्द्रीय राहदानी कार्यालयले माघ २ बाट नागरिकता प्रमाणपत्रको आधिकारिकता पुष्टि नगरी राहदानी निवेदन नबुझ्ने जनाएको छ। नागरिकता वा नावालिग परिचयपत्र जारी भएको जिल्लाको प्रशासन कार्यालयबाट आधिकारिता पुष्टि गराएपछि मात्र राहदानीको निवेदन पेस गर्न सकिने नयाँ व्यवस्था गरिएको हो।

 

नक्कली नागरिकताबाट कसैले पनि राहदानी लिन नसकून् भनेर नयाँ व्यवस्था गरिएको कार्यालय प्रमुख भरतराज पौड्यालले बताए।

कार्यालयका अनुसार राहदानी लिन चाहनेले नागरिकता प्रमाणपत्र वा नावालिग परिचयपत्र जारी भएको जिल्ला प्रशासन कार्यालयमा गई राहदानी निवेदन फाराम तथा कागजपत्र पेस गर्नुपर्नेछ। प्रशासन कार्यालयले कागजपत्र र फाराममा उल्लिखित विवरण भिडाई फारामको पछाडि नागरिकता प्रमाणपत्र वा नावालिग परिचयपत्रको आधिकारिकता प्रमाणित गरी निवेदकलाई पत्र थमाउनेछ। पत्रमा निवेदकले त्यसअघि कार्यालयबाट राहदानी लिए/नलिएको बेहोरासमेत खुलाइनेछ।

‘यसरी प्रमाणित भई आएका राहदानी निवेदनहरू मात्र केन्द्रीय राहदानी कार्यालयमा पेस गर्न सकिनेछ,’ पौड्यालले भने।


नयाँ व्यवस्थाअनुसार जिप्रकाले साप्ताहिक रूपमा आफूले प्रमाणित गरी पठाएका निवेदन फारमको विवरण केन्द्रीय राहदानी कार्यालयमा फ्याक्समार्फत पठाउनेछ। निवेदकको पत्र र जिप्रकाको साप्ताहिक विवरण भिडाएपछि मात्र राहदानी जारी गर्ने प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए।