भिओआइपीमार्फत हुने बाइपास कल १० प्रतिशतमा झर्यो/दूरसञ्चार कम्पनीको अन्तर्राष्ट्रिय गेटवेमार्फत हुने आम्दानी मासिक झन्डै ४८ करोड रुपैयाँले बड्यो

अखाँटा-प्रतिनिधी -प्रहरीले चार महिनाको अवधिमा कारबाही तीव्र बनाएपछि अवैध भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) प्रविधिमार्फत हुने अन्तर्राष्ट्रिय कल बाइपास १० प्रतिशतमा झरेको छ ।यो सगै दूरसञ्चार कम्पनीको अन्तर्राष्ट्रिय गेटवेमार्फत हुने आम्दानी मासिक झन्डै ४८ करोड रुपैयाँले बढेको छ । चार महिनाअघिसम्म मासिक झन्डै ५० प्रतिशत अन्तर्राष्ट्रिय कल अनुमति पाएका कम्पनीको गेटवेबाट आउने गरेका थिए । अहिले यो ९० प्रतिशत पुगेको छ ।


मासिक १८ करोड मिनेट अन्तर्राष्ट्रिय फोन नेपाल भित्रने गर्छ । त्यसमा चार महिनाअघिसम्म ८ करोड फोन अवैध भिओआइपी र १० करोड कल दूरसञ्चार कम्पनीको गेटवेमार्फत भित्रने गर्थे । कारबाही तीव्र भएपछि हाल मासिक १६ करोड मिनेट फोन टेलिकम कम्पनीको गटेवेमार्फत भित्रने गरेको छ । अन्तर्राष्ट्रिय गेटवेमार्फत नेपाल भित्रिने एउटा कलबाट दूरसञ्चार कम्पनीले झन्डै ८ रुपैयाँ आम्दानी गर्छन् । तर अझै १६ करोड रुपैयाँ बराबरको २ करोड अन्तर्राष्ट्रिय फोन अवैध कल बाइपासबाट भित्रने गरेको छ । चार महिनअघिसम्म मासिक झन्डै ६४ करोड रुपैयाँको अवैध कल बाइपासबाट दूरसञ्चार कम्पनीले गुमाउने गरेका थिए । सरकारले अन्तर्राष्ट्रिय कल भित्राउन नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (युटिएल) र एसटिएम टेलिकमलाई अनुमति दिएको छ ।


मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकमले प्रहरीको सक्रियताले आफ्नो गेटवेमार्फत नेपाल भित्रने कल उच्चदरमा बढेको जनाएको छ । प्रहरीले तीन वर्षदेखि अवैध कल बाइपासविरुद्ध कारबाही सुरु गरेको थियो । त्यसयता प्रहरीले विभिन्न २५ स्थानमा छापा मारेको छ । जसबाट २७ नेपाली र १० बंगलादेशी पक्राउ परेका छन् । त्यसक्रममा कल बाइपास गर्ने विभिन्न उपकारणका साथै ६ हजार १ सय ८९ सिम कार्ड फेला पारेका थिए । जसमा १ हजार ८ सय ३७ वटा टेलिकम, ४ हजार १ सय २८ वटा एनसेल र २ सय ७ वटा युटिएल र १७ वटा टेलिकमको स्काई फोनका सिम छन् ।