उच्च पहाडी क्षेत्रमा हिमपात र तराईमा शीतलहरका कारण जनजीवन प्रभावित

काठमाडौँ – संचारमाध्यमहरुले जनाए अनुसार उच्च पहाडी क्षेत्रमा हिमपात र तराईमा शीतलहरका कारण बढ्दो चिसोले विशेषगरी बालबालिका, वृद्ध, श्वासप्रश्वाससम्बन्धी रोगी र विपन्न वर्ग प्रभावित भएका छन् ।


हुम्ला, जुम्ला, मुस्ताङ, दोलखालगायतका उच्च पहाडी क्षेत्रमा बढ्दो हिमपात र धनुषा, सिरहा, सप्तरी, रूपन्देही, बाँके, कैलालीजस्ता सुदूरपश्चिमदेखि मध्य तराई भेगसम्म फैलिएको शीतलहरबाट अहिले ती क्षेत्रको जनजीवन प्रभावित भएको छ ।


शीतलहरका कारण प्रभावित तराई क्षेत्रमा अहिले सार्वजनिक विद्यालयसमेत बन्द गरिएको, सरकारी कार्यालयमा आउने सेवाग्राहीको सङ्ख्या घटेको, बढ्दो हुस्सुले सडक तथा हवाइ यातायातसमेत प्रभावित भएको, कामकाजी मानिस मुख छोपी बाक्ला लुगाफाटा लगाएर हिँड्ने गरेको र सडक गल्लीका विभिन्न चोकमा आगो ताप्ने मानिसको हुल बढेको अवस्था छ ।


जल तथा मौसम विज्ञान विभागले यस किसिमको हिमपात तथा शीतलहरको प्रभाव बढीमा एक हप्ता रहने सम्भावना रहेको बताउँदै मध्य हिउँदमा ती क्षेत्रमा चिसो बढ्नु स्वाभाविक प्रक्रियाअन्तर्गत पर्ने स्पष्ट गरेको छ ।


विभागका अनुसार आइतबार काठमाडौँमा न्यूनतम तामक्रम २ , विराटनगरमा ९.५, धनुषामा ५.५, सिमरा र भैरहवामा ८.५, नेपालगन्जमा ५.५, जुम्लामा -८, जोमसोममा -७ र जिरीमा -०.५  डिग्रीसेन्टिग्रेड रहेको छ ।


यसैगरी काठमाडौँमा अधिकतम तामक्रम २०.२, विराटनगरमा १७.४, सिमरामा ११.५, भैरहवामा १०.८, धनगढीमा ११.९, जिरीमा १३.५ र जोमसोममा ८.५ डिगि्रसेन्टिग्रेड रहेको पनि विभागले जनाएको छ ।


अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर कम हुँदा चिसोको प्रभाव देखिएको बताउँदै विभागका मौसमविद् ध्रुव नेपालले पूर्वी तराई क्षेत्रमा शनिबारको तुलनामा आइतबार शीतलहरको प्रभाव न्यून देखिएकाले अब क्रमशः शीतलहरको प्रभाव घट्दैजाने बताउनुभयो ।