एमाले संसदीय दलले आफ्ना सबै सांसदहरुलाई बुधबारको बैठकमा उपस्थित हुन र कांग्रेसका रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिएमा विपक्षमा मतदान गर्न हृवीप जारी गरेको छ ।
प्रमुख सचेतक भीम आचार्यले मंगलबार जारी गरेको ह्वीपमा पछिल्लो केन्द्रीय समिति र संसदीय दलको बैठकको निर्देश अनुसार पौडेलको बिपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
साथै पार्टीका सासंदहरुलाई पछिल्लो पटक सर्वोच्च अदालतले दिएको आदेश अनुसार बिशेष कारण बाहेक अनुपस्थित नहुन र मत नदिन नपाउने जानकारी समेत गराएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपाल र नेता केपी ओली पक्षधर नेताहरुले पौडेलको विपक्षमा मतदान गर्ने केन्द्रीय समितिको पूर्व निर्णय पुर्नविचारको लागि केन्द्रीय समितिको बैठक माग गरिरहेकै बेला आचार्यले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन।
मंगलबार बिहान माओवादी र एमाले शीर्ष नेतृत्वबीचको छलफलमा पौडेलले उम्मेदवारी फिर्ता नलिएमा बिपक्षमा मतदान गर्ने सहमति गरेको थियो ।



