काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार अध्ययन विनानै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरमा निर्माण हुने क्रममा रहेका आकाशेपुल रोकेको भन्दै काठमाडौं महानगरपालिकामा प्रतिनिधित्व गर्ने दलीय संयन्त्रका प्रतिनिधिहरुले असहमति जनाएका छन्।
संयन्त्रले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि अख्तियारको निर्णयले पुल निर्माणमा झनै अन्यौलता थपिएकोले भन्दै हालकै सम्झौता अनुसार पुल निर्माण हुनुपर्ने बताए।
महानगरपालिकाका गोंगवु, कलंकी, नयाँ बानेश्वर,र माछापोखरी गरि छ स्थानमा निर्माण हुन लागेका आकाशेपुल दुई साता अघि अख्तियारले र गत साता संसदको सार्वजनिक लेखा समितिले राकेको थियो।
‘हालको निर्माण रोकिदा निर्माण भैसकेका पुलहरु इनोभेटिभले सयौं बर्ष सन्चालन गर्न सक्छ,’ महानगरमा माओवादी बाट प्रतिनिधित्व गर्ने सर्वोत्तम डंगोलले भने ‘भौतिक योजना तथा निर्माण मन्त्रालयले आफै नक्सा पास गरेर पछि संरचना व्यवहारिक छैन भन्ने असान्दर्भिक हुन्छ।’ पत्रकार सम्मेलनमा सद्भावना, माओवादी र मालेबाट महानगरमा प्रतिनिधित्व गर्ने संयन्त्रका पदाधिकारी सहभागी थिए।
सार्वजनिक लाभ भन्दा पनि व्यावसायीक बनेको र तय गरिएको संरचना ठिक नभएको भन्दै अख्तियार र समितीले पुल रोकेका हुन्। महानगरले इनोभेटिभलाई दश बर्ष अघिनै तीन बर्ष भित्र निर्माण सक्नेगरि छ पुल निर्माण गर्न ठेक्का दिएपनि सम्झौता अवधिमा दुईबटा मात्र निर्माण गरेपछि गत बर्ष पुन सम्झौता पुनरावलोकन गरेको थियो। महानगरका कर्मचारीहरु भने भौतिक योजना तथा निर्माण मन्त्रालयका पदाधिकारी र महानगरका उच्च अधिकारीको मिलेमतोमा आकाशेपुल निर्माणको ठेक्का दिइएको बताउँछन्।