गुल्मीको पूर्तिघाटबाट फोक्सिङ्ग तर्फ जाँदै गरेको जिप दुर्घटनामा मर्नेको संख्या तीन

घनश्याम गौतम

 

गुल्मी – प्राप्त समाचार अनुसार  गुल्मीको पूर्तिघाटबाट फोक्सिङ्ग तर्फ जाँदै गर्दा मंगलबार भएको जिप दुर्घटनामा मर्नेको संख्या तीन पुगेको छ । घटनामा गुल्मीको फोक्सिङ्ग गाविस-३ मंगलस्थान निवासी ६५ वर्षीय ओमप्रसाद राना र सोही स्थानकै २६ वर्षीया भिमकली राना र फोक्सिङ्ग-४ बतासेका २२ वर्षीय रेशम रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

ग २ च ३८६९ नम्बरको जिप गुल्मीको पूर्तिघाट गाविस-१ डाङलिङ्गमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १७ जना घाइते भएका थिए । हिजो साँझ ७ बजेपछि अप्ठ्यारो भिरमा दुर्घटना भएकाले केही विरामी र एक जना मृतकको आज विहान मात्र उद्धार गरिएको स्थानीय प्रकाश न्यौपानेले जानकारी दिए । घाइते मध्य गम्भिर ९ जनाको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भैरहेको छ । पाल्पामा उपचार गराईरहेका मध्ये पर्बतको राङपाङ गाविसकी चन्द्रकला कुँवर र गुल्मीकै फोक्सिङ्ग गाविसकी सुनिता परियारको अवस्था चिन्ताजन रहेको अस्पतालले जनाएको छ ।

पूर्तिघाट बजारबाट फोक्सिङ्ग गाविसका लागि दिनहुँ साँझ ७ बजे छुट्ने हिजो साँझ बजारबाट छुटेको १० मिनेटमै दुर्घटनामा परेको थियो । साँघुरो मोडमा लोड बढी भएपछि दुर्घटना भएको पूर्तिघाट प्रहरी चौकीले जनाएको छ । जिपमा दुई दर्जन भन्दा बढी यात्रु सवार थिए ।