काठमाडौँ – नेपाली युवालाई सक्षम र दक्ष बनाएर मात्र वैदेशिक रोजगारमा पठाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी महासङ्घको पाचौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले रोजगारका लागि विदेश जान चाहने युवालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
वैदेशिक रोजगारमा जान लागेका युवालाई स्वास्थ्यको क्षेत्रमा गुस्तरीय सेवा दिएर महासङ्घले राज्यलाई ठूलो सहयोग गरेको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
उपकुलपति प्रा डा दामोदर पोखरेलले विदेश जाने युवा दिनप्रति दिन बढ्दै अवस्थामा उच्चस्तरीय जनशक्ति तयार गरेर मात्र विदेश पठाउनुपर्ने बताउनुभयो ।
उहाँले शारिरीक रुपले स्वस्थ र प्राविधिक ज्ञान नभइकन विदेशिँदा धेरैले समस्या भोग्नु परेको उल्लेख गर्दै त्यसलाई रोक्नका लागि सबैले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
छाती रोग विशेषज्ञ डा शरद बर्माले वैदेशिक रोजगारमा जान चाहने युवालाई अन्तराष्ट्रियस्तरको स्वास्थ्य सेवा दिनुपर्ने उल्लेख गर्दै स्वास्थ्यका कारण कुनै पनि नेपाली युवाले काम गर्नबाट रोकिनुपर्ने, आधा बाटैबाट फर्किनुपर्ने र विभिन्न यातना भोग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो ।
महासङ्घका अध्यक्ष खड्गबहादुर श्रेष्ठले वैदेशिक रोजगार जानेहरुको छातीको एक्सरे प्रतिवेदन एकरुपता नभएका कारण मलेशियाबाट फर्किनु परेको घटनाको स्मरण गराउँदै यस आर्थिक वर्षदेखि निःशुल्क एक्सरे गर्ने व्यवस्था गरिनलागेको बताउनुभयो ।