काठमाडौं – प्राप्त समाचार अनुसार सरकारले यस वर्षको गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापानका दुई नगर हिरोसिमा र नागासाकीका मेयरलाई दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले हिरोसिमा र नागासाकीका मेयर क्रमशः तादा तोशी आकिबा र टमी इशा ताउलाई संयुक्त पमा दिने निर्णय गरेको जानकारी संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालले दिए ।
उनका अनुसार विश्वभर अहिंसा र शान्तिका लागि निर्वाह गरेको भूमिकाका लागि ती दुई मेयरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । दुवै मेयरको अहिंसा र शान्तिका लागि विश्वभरका ७ हजार नगरको संघ नै बनाउनमा र आणविक हतियार विरोधी अभियान सञ्चालनमा समेत अग्रणी भूमिका छ । आगामी दिनमा लुम्बिनीको विकासमा ती दुई मेयरको विशेष सहयोग हुने विश्वाससमेत सरकारको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय पुरस्कार छनौट गर्न संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको संयोजकत्वमा गठित समितिको सिफारिसमा उनीहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पहिलोपटक यो पुरस्कार दिन लागिएको हो । नेपालको अन्तर्राष्ट्रिय शान्ति पुरस्कारको राशि ५० हजार अमेरिकी डलर (३६ लाख रुपैयाँ) छ । रिजालका अनुसार आगामी बौद्ध पूणिर्माका दिन (मे १७) मा गौतम बुद्धको जन्मस्थल लुम्बिनीका आयोजना गरिने विशेष कार्यक्रममा उक्त पुरस्कार जापानी मेयरद्वयलाई प्रदान गरिनेछ ।
द्वितीय विश्व बुद्धमा अमेरिकाले जापानका हिरोसिमा र नागासाकीमा अणुबम आक्रमण गरेपछि दुवै सहर ध्वस्त हुनुका साथै धनजनको ठूला क्षति भएको थियो । अणुबम आक्रमणको चपेटामा परेका कारण कारण ती दुई सहर विश्वभर चर्चित छन् । पछि ती दुई सहरको पुनर्निर्माण गरिएको हो । विश्वमा चर्चित ती दुई सहर तथा जापानी जनता र लुम्बिनीबीच सम्बन्ध बढाउने उद्धेश्यसमेत सरकारको रहेको छ ।
सरकारले गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन् भनेर विश्वलाई चिनाउन र लुम्बिनी विकासको गुरुयोजना बनाउन विशेष भूमिका निर्वाह गरेका संयुक्त राष्ट्रसंघका पूर्व महासचिव स्व. ऊ थान्तलाई विशेष सम्मान गर्ने निर्णय गरेको छ । बुद्ध पूणिर्माका दिन लुम्बिनीमा आयोजना गरिने कार्यक्रममा ऊ थान्तको परिवारको कुने सदस्यलाई विशेष अतिथि बनाई सम्मान गरिनेछ । सरकारले एक/दुई दिनमै पत्र पठाएर जापानका दुवै मेयर र ऊ थान्तको परिवारलाई मे १७ मा लुम्बिनीमा आयोजना गरिने विशेष कार्यक्रममा उपस्थित हुन आमन्त्रण गर्ने भएको छ ।
श्रेष्ठलाई सम्मान गरिने
सरकारले भारतीय सेनाबाट अवकास लिएर आउँदै गर्दा रेलमा लुटपाट गर्न आएका ४० जनाभन्दा बढी डाँकालाई एक्लैले भगाएर युवतीको इज्जत जोगाएका विष्णु श्रेष्ठलाई सम्मान गर्ने भएको छ । मन्त्रिपरिषद्ले श्रेष्ठले बहादुरीपूर्वक कार्य गरेर नेपालीको प्रतिष्ठा बढाएकामा सम्मान गर्ने निर्णय गरेको हो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले कार्यक्रम गरी सम्मान गर्नेछ । उनको बहादुरीको कदर गर्दै कति पुरस्कारसहित सम्मान दिने भन्ने निर्णय समाज कल्याण मन्त्रालयले गर्ने जानकारी स्रोतले दिए ।



