काठमाडौ, पुस ३० – नेपाल पर्यटन वर्ष २०११ आज(शुक्रबार)बाट औपचारिक रुपमा सुभारम्भ भएको छ । यस वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारले लक्ष्य राखेको छ ।
दशरथ रङ्गशालामा आयोजित विशेष समारोहबीच पर्यटन वर्षको प्रारम्भ गरिएको छ । उक्त अवसरमा राष्ट्रपति डा. रामवरण यादव,उपराष्ट्रपति परमानन्द झा,प्रधानमन्त्री माधवकुमार नेपाल,सभामुख सुवास नेम्वाङ,माओवादी अध्यक्ष झलनाथ खनाल,कांग्रेस नेता रामचन्द्र पौडेल,मधेशवादी दलका नेताहरु,मन्त्रीगण लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको छ । नेपालको झण्डा र पर्यटन वर्षको झण्डा बोकेर रंगशालामा मार्च पास गरियो । मुलुकमा रहेको विभिन्न विविधता झल्किने सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । आकाशमा प्याराग्लाइडिङ मार्फत झण्डा फहराइएको थियो ।
स्वागत मन्तव्य दिंदै पर्यटन मन्त्री शरदसिंह भण्डारीले नेपालमा प्रचुर सम्भावना रहेको पर्यटन मार्फत आर्थिक क्रान्ति गर्न सकिने बताए । बन्द,हडताल, चक्काजाम लगायतले पर्यटन क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने गरेको भन्दै उनले त्यसका लागि राजनीतिक प्रतिवद्धता कायम हुनुपर्नेमा जोड दिए ।
‘विश्वका सबै राष्ट्र पर्यटक भित्र्याउन कम्मर कसरे लागेको छ,’उनले भने-‘पर्यटन वर्ष मनाएर हामीले पनि पर्यटकलाई आकषिर्त गर्न प्रयत्न गरेका छौं । यसले आर्थिक क्रान्तिका लागि ढोका खोल्ने छ ।’कार्यक्रममा सार्क राष्ट्रका पर्यटन मन्त्रीहरुको पनि सहभागिता रहेको छ ।
अघिल्लो सरकारले सन् २०११ लाई पर्यटन वर्ष मनाउने घोषणा गर्दै १० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको थियो ।
यसअघि सन् १९९८ मा नेपाल भ्रमण वर्षको आयोजना गरी पर्यटन प्रवर्द्धको कार्य गरिएको थियो ।