काठमाडौं, माघ १ – संचारमाध्यमहरुले जनाए अनुसार राष्ट्रपति रामवरण यादवले सरकार-माओवादीबीचको पछिल्लो सहमतिले शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई गति दिने विश्वास ब्यक्त गरेका छन् ।
प्रधानमन्त्री माधबकुमार नेपालसंगको भेटमा राष्ट्रपति यादवले सरकार-माओवादीबीचको पछिल्लो समझदारी प्रति प्रशन्नता जनाएका हुन् । यसअघि शुक्रबारै प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच अनिमिनको अनुपस्थितिमा अस्थायी सिविरमा रहेका हतियार र माओवादी लडाकु अनुगमनबारे तीन बुँदे सहमति भएको थियो । तीन बुँदे सहमतिको जानकारी पाएपछि राष्ट्रपति यादवको प्रतिक्रिया थियो- ‘राम्रो भयो । अब शान्ति प्रक्रिया नयाँ चरणमा प्रवेश गर्यो ।’
सहमतिले अनमिनको वहिरिए पछि के हुन्छ भन्ने आशंका समाप्त भएको उल्लेखगर्दै प्रधानमन्त्री नेपालले सबैको प्रयासले शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्याउने सकिने विश्वास ब्यक्त गरेका थिए । करिब आधाघण्टाको भेटवार्ता नयाँ सरकार निर्माणको प्रक्रियामा केन्द्रीत थियो । प्रधानमन्त्री नेपाल माओवादीसंगको पछिल्लो सहमति, नयाँ सरकार गठनको प्रक्रिया र समसामयिक राजनीतिक विषयमा राष्ट्रप्रमुखलाई जानकारी गराउन शितलनिवास गएका थिए ।
गत असारबाट सुरु भएको प्रधानमन्त्री चयनको प्रक्रियाले एक चक्र पुरा गरेको उल्लेखगर्दै प्रधानमन्त्री नेपालले धारा ३८ (१)अनुसारको सरकार गठनका लागि राष्ट्रपतिबाट नयाँ प्रक्रिया थाल्नु उपयुक्त हुने सुझाव दिएका थिए । राष्ट्रपति यादवले आइतबार सम्म सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्ने बताइएको छ । ‘राष्ट्रपतिबाट यस्तो आह्वान गर्न शनिवारले फरक पार्दैन, शनिवार पनि यस्तो काम हुने परम्परा छ,’ स्रोतले भन्यो- ‘नभए आइतबार भन्दा पर जादैन ।’
यसअघि राष्ट्रपति यादवलाई सभामुख सुवास नेम्वाङ्गले संसदले संविधानको धारा ३८ (२) अनुसार प्रधानमन्त्री चयनको प्रक्रिया अन्त्य गरेको र नियमावली संसोधनको प्रक्रिया सुरु गरेको विषयमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री निर्वाचन प्रक्रियालाई अन्त्यहिन हुन नदिन संसदले नियमावली परिवर्तनको प्रक्रिया सुरु गरेको छ ।
यसैबीचमा राष्ट्रपतिबाट सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान भएमा सरकार गठन र नियमावली परिवर्तनको प्रक्रिया संगसंगै अघि बढ्ने छ । राष्ट्रपतिबाट तोकिएको समयमा दलहरु सहमतिको सरकार गठनका लागि असफल भएमा नयाँ निमावली अनुसार संसदले निर्वाचन कार्यक्रम घोषणा गर्नेछ । नियमावली संसोधन मस्यौदा समितिले सोमबार सदनमा आफ्नो प्रतिवेदन पेस गर्नेछ । समितिले आफ्नो बैठक गरी औपचारिकरुपमा काम सुरु गरेको छ । पाँच सदस्यीय समितिको संयोजकमा माओवादी सभासद् एकराज भण्डारी संयोजक चुनिएका छन् ।