नेपालको शान्तिप्रक्रियामा सघाउन आएको राष्ट्रसङ्घीय राजनीतिक मिसन -अनमिनको कार्यकाल आज औपचारिक रुपमा समाप्त

काठमाडौँ –  नेपालको शान्तिप्रक्रियामा सघाउन आएको राष्ट्रसङ्घीय राजनीतिक मिसन -अनमिन) को कार्यकाल आज औपचारिकरुपमा सकिएको छ ।


नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा -माओवादी) बीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्तिसम्झौता अनुसार २३ जनावरी २००७ मा नेपालमा अनमिनको कार्यालय स्थापना भएको थियो ।


अनमिनको बिदाईका लागि नेपाल आउनुभएका राष्ट्रसङ्घका महासचिव वान की मुनका विशेष प्रतिनिधि स्यामुअल तम्राटले आज साँझ नयाँ वानेश्वरस्थित कार्यालयमा आयोजित एक समारोहबीच त्यहाँस्थित राष्ट्रसङ्घको झण्डा झार्नुभयो ।


सो समारोहमा सभाध्यक्ष सुबास नेम्बाङ, विभिन्न राजनीतिक पार्टीका नेताहरू र विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।


सरकार र एमाओवादीको अनुरोधका आधारमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले तीन महिनाअघि अन्तिम पटकका लागि अनमिनको अवधि थप गरेको थियो ।


पछिल्लो समयमा अनमिनले गर्दै आएको काम सेना समायोजन विशेष समितिलाई जिम्मा दिने र एमाओवादी केही समयका लागि उसको म्याद थप्ने पक्षमा उभिए पनि अनमिनको बहिर्गमनपछि अनुगमन, समायोजन र व्यवस्थापनको जिम्मा विशेष समितिलाई दिन सरकार र एमाओवादीबीच आजै सहमति भएको छ ।


एमाओवादीका लडाकूको समायोजन र हतियारको व्यवस्थापनको पनि जिम्मेवारी पाएको अनमिनले दलहरूबीचको असहमतिका कारण समयमै प्राप्त्ा जिम्मेवारी पूरा गर्न भने भ्याएन ।